आस्थाको धरोहर सुदूरको बडीमालिका ( फोटोफिचर )


बसन्त बिश्वकर्मा
३१ साउन । सुदूर पश्चिमाञ्चलको धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा भदौ एकगते मेला तथा पूजा हुदैछ । बाजुरा जिल्लामा अवस्थित यस मन्दिरमा भदौ शुक्लपक्ष चर्तुदशीका दिन मेलालाग्ने गर्दछ । आइतबार बाजुराको सदरमुकाम मार्तडीबाट साहकय प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा सरकारी टाेली पूजागर्न प्रस्थान गरेको छ ।

malika (2)
त्रिवेणी क्षेत्रमा रहेका हरिया फाँटहरु (पाटन)

स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन् । समुन्द्री सतहबाट १४ हजार फिटको उचाईमा रहेको छ । बडिमालिका क्षेत्रलाई ४ महिना हिउँले ढाक्ने गर्दछ । बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । बडीमालिका क्षेत्रको वास्तविक महत्व कतैबाट कुनै निकायले पनि अध्ययन गरेका छैनन् । विकास र प्रवद्र्धन कसैले ध्यान नदिएको गुनासो जिल्ला बासीको छ ।

malika1

वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन भब्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा जनैपूर्णिमा दर्शनार्थीहरुको घुईचो बढी हुन्छ । त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दीरका पुजारी भानुभक्त पाध्यायले बताए । बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । बडिमालिका क्षेत्र जिल्लाको कैलाशमाण्डौ र मार्तडी गाविसको सिमानामा पर्ने गर्दछ ।

प्राकृतिक अनुपम सौन्दर्यता
प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ । सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् ।

malika (3)
चरन क्षेत्रका देखिने भेडाका बथानहरु

बडीमालिका क्षेत्रमा हयिालीफाँटमा भेडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटीन्छन् । पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।

malika (1)
धान रोपेको जस्तै देखिने (यसलार्इ स्थानीयले खेतीवेती भन्छन् )

बडीमालिका भगवतीको उत्पति र मन्दिरको धार्मिक आस्था
सतीदेवीको मृत्युपछि वियोगमा पृथ्वी भ्रमणमा रहेका महादेव र उनलेले बाकेको सतीदेवीको मृत शरीर नकुहिएपछि धेरै पछिसम्म त्यसै रहने थाहापाई आफ्नो औंस झिँगाको रुप गरी सतीदेवीको शरीरमा प्रवेस गरी सतीदेवीका अङ्ग पैत्यङ्गहरु कुहिदै खस्न थाले ।
यसरी खस्ने क्रममा बाजुरा जिल्लामा अवस्थित मल्लागिरी पिठमा सतीदेवीको बायाँ कुम पतन भयो त्यसैले यसलाई मल्ला गिरी पिठ भनियो । पछि उक्त नाम अपभ्रमंश भई मालिका रहन गएको मानिन्छ ।
बडिमालिका नाम यसरी रहन गएपछि त्याहाँ नजिकमा रहेका आदिवासीले एउटा ढुङ्गाको पूजा गर्दथे ।

Malika

त्यसपछि अलि सानो मन्दिर जस्तो बनाएर पूजा आरधना गरेको पाईयो उक्त मन्दिर भत्किदा वि.सं २०२६ साल बैशागमा सव ओभरसियर चक्र वहादुर थापाले गरेको डिजाईन र इस्टिमेटमा लालसिंह खड्का,लाल वहादुर वडुवाल र ओडी वाजे भनिने मिस्त्रीहरु लगाएत ७÷८ सय जना कामदार बुढिगँगा गा.वि.स.का, कोर्ध र मनाका मानिसहरुले मन्दिर बनाएको पाईयो । त्यतिखेरका प्रमुख जिल्ला अधिकारी श्री स्त्रीजङ्ग सिंहले २०२६ साल जेठ १३ गते मन्दिरको उद्घाटन गर्नु भएको थियो । जुन मन्दिर अहिले सम्म यथावत छ ।

यस मन्दिरमा भाद्र पर्णिमा चतुर्ददशिका दिन प्रत्येक बर्ष मेला लाग्ने गरीन्छ ।उक्त दिन उक्त अँग पतन भएकोले सोहि दिन तिथि पारेर बाजुरा, बझाङ्ग, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा लगायत अन्य जिल्लाका मानिसहरु देवस्को आशिर्वादको लागी वर मागेर जाने चलन रहेको छ

निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् ।

बडीमालिका पुग्ने प्रमुख पदमार्गहरु

Malika2

बडीमालिकाको दर्शनगर्न जाने दर्शनार्थीहरुले फरक पदमार्गहरुको प्रयोग गर्दछन् आएका बाजुरा हुदै जाने यात्रिहरुले कैलाशमाण्डौ गाबिस नाटेश्वरी हुदै मालिका पुग्दछन् र तिन दिनको पैदल यात्रामा त्रिवेणी पुगेर पुनः बडिमालिका मन्दिर फर्किन छन् ।

त्यस्तै सदरमुकाम मार्तडी हुदै तिन दिनमा बडिमालिका पुग्न सकिन्छ । यो बाटो सबैभन्दा सजिलो मानिन्छ । त्यस्तै जिल्लाको उत्तरी क्षेत्रका दर्शनार्थीहरु पोरखे लेखहुदै त्रिवेणी पुग्दछन् ।

मध्यपश्चिमका कालिकोट लगायतका जिल्लाहरुबाट आउने दर्शनार्थीहरु कालिकोट हुदै त्रिवेणी पुग्दछन् । पुग्नको लागी जुन पलमार्गा प्रयोग गरेपनि शुक्लपक्षको त्रितिया तिथीको दिन सबैको बास त्रिवेणीमा नै हुन्छ । पछिल्लो बिहान स्नान गरेर भक्तजनहरु बढिमालिका मन्दिर तिर प्रस्थान गर्दछन् । एकरात मन्दिर परिसरमा बिताएर पछिल्लो दिन कैलाशमाण्डौँ गाबिसमा रहेको नाटेश्वरी मन्दिरमा पुग्दछन् । नाटेश्वरीमा पुजा गरेर दर्शनार्थीहरु घरफर्किन्छन् ।

संरक्षणमा राज्यको नजर

राज्यको प्रमुख निकायमा बस्ने व्यक्तिबाट हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ । तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन् । बडीमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ ।

बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । त्रिवेणीमा पीतृकार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् ।

सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । सुदूरपश्चिमको धरोहर बडिमालिका राज्यको उदासिनता र बेवास्ताले ओझेलमा छ ।

प्रतिक्रिया दिनुहोस्