इच्छाशक्ति नै छैन त कसरी टुंगिन्छ एकता:वरिष्ठ नेता नेपाल


काठमाडौं, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको एकता टुङ्ग्याउन दुबै अध्यक्षमा चाहना र संकल्पको कमी देखिएको बताएका छन् ।

नेता नेपालले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नदेखाउँदा पार्टी एकता प्रक्रिया प्रभावित बनेको आरोप लगाए । शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले भने, ‘जहाँ चाह त्यहाँ राह । इच्छाशक्ति नै छैन त कसरी हुन्छ?’

एकता प्रक्रिया लामो हुँदा कार्यकर्तामा नैराश्यता छाएको भन्दै उनले पार्टीभित्रको जटिलतालाई अन्त्य गर्दै अघि बढ्नु आजको आवश्यकता रहेको बताए ।

नेता नेपालले विधि–विधान अनुसार पार्टीलाई अगाडि बढाउन सके समस्याहरु स्वतः समाधान भएर एकता प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेका छन् । पार्टीभित्र हुने विवादहरुलाई सामान्यीकरण गर्न तत्पर रहनुपर्ने भन्दै नेता उनले एकता प्रक्रिया कुनै अनौठो कुरा नभएको र चाँडै टुङ्गो लगाउन सकिने बताए ।

नेता नेपालले अहिले सरकारको काम कार्वाहीलाई पार्टीभित्र पनि छलफल गर्नुपर्ने औंल्याएका छन् । छलफल र बहसमार्फत जनपक्षीय कामका लागि सरकारलाई दबाव दिन अनुगमन प्रणाली बलियो बनाउनु पर्ने उनको धारणा छ । ‘सरकारका काम कार्वाहीमा ढिलासुस्ती गर्ने, काम नगर्ने, बदमासी गर्ने, भ्रष्टाचार गर्नेलाई कार्वाही गरेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘दण्डहीनता कायम रहे यथास्थितिमा सुधार गर्न सकिंदैन ।’

प्रतिक्रिया दिनुहोस्