इटालीमा एकैदिन २ सय ५० जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या ५५ सय


काठमाडौं, १ चैत । चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटालीमा थप २ सय ५० जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १२ सय ६६ पुगेको छ ।

इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको छ ।

इटालीमा २ हजार ५ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८, अमेरिकामा ७  र दक्षिण कोरियामा पाँचजनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कोरानाका कारण चीनमा अहिलेसम्म सबैभन्दा धेरै तीन हजार एक सय ७७ जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । शुक्रबार चीनमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन भने १० जनामा नयाँ संक्रमण फेला परेको छ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण  १ सय २९ देशमा फैलिसकेको छ।

पछिल्लो समय कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोनाको संक्रमण दर उल्लेख्य मात्रामा घटेको छ। यससँगै चीन सरकारले कोरोनाको माहामारीबाट मुक्त भएको घोषणा गरिसकेको छ।

चीन कोरोनाको माहामारीबाट मुक्त भएको सन्देश दिन चिनियाँ राष्ट्रपति सी जिनफिङले मंगलबार कोरोनाबाट अति प्रभावित वुहान क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै दक्षिण कोरियामा पनि यसको प्रभाव कम हुन थालेको छ।

चीन र दक्षिण कोरियामा कोरोनाको प्रभाव कम हुँदै गएपनि युरोपेली, अमेरिकी तथा अन्य एसियाली देशहरुमा भने यो तीब्र गतिमा फैलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्