इदुल फित्रको अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश


२२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको चाड इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

‘इस्लाम धर्मावलम्बीहरुको महान चाड इदुल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका मुस्लिम समुदायका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ सन्देशमा भनेका छन्, ‘यस चाडले हामी सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि, भ्रातृत्व, सद्भाव, सहिष्णुता र एकताका लागि प्रेरणा प्रदान गरोस् भनी शुभेच्छा व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले विभिन्न धर्म, संस्कृति, भेषभुषा, रहनसहन र पहिचानको विविधताले नेपाल सु–सज्जित रहेको भन्दै उनले यहाँका हरेक जातजातिका आ–आफ्नै मौलिक संस्कृति र पहिचान रहेको बताएका छन् ।

‘नेपाल लगायत विश्का विभिन्न मुलुकमा रहेका इस्लाम धर्मावलम्बीहरुले मनाउने इदुल फित्र चाँडको पनि आफ्नो छुट्टै मौलिकता, संस्कृति र परम्परा रहेको छ,’ उनले भनेका छन्, ‘हामी नेपालीहरुले सदियौंदेखि एकअर्का समुदायका धर्म–संस्कृति र परम्पराको सम्मान गर्दै आएका छौं । इतिहासदेखि कायम रहँदै आएको हामीबीचको सदभावयुक्त संस्कृतिको निरन्तरता आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले उक्त चाडले सम्पूर्ण नेपालीबीचको एकता, हार्दिकता र धार्मिक, सांस्कृतिक तथा सामाजिक सदभावका लागि प्रेरणा दिन सकोस् पनि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्