इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा छैनौं : मन्त्री बास्कोटा


काठमाडौं, २६ असार । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको बताएका छन् । मंगलबार ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बास्कोटाले आफु शुल्क बढाउने पक्षमा नभएकोले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न गरिने बताएका छन् । मन्त्री
बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय गर्न आफ्नो मन्त्रालय र सचिवलाई सचेत समेत गराएका छन् । मन्त्री बासकोटाले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने बताए ।
इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ मन्त्री बास्कोटाको भनाई छ । उनले सरकारको नीतिलाई आवश्यक निर्णय लिएर कार्यान्वयनमा लैजाने काम प्रशासन क्षेत्रको भएको पनि स्मरण गराए ।
मन्त्री बास्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउनेगरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिदै स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको गुनासो गरे । तर सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गरेकाले कम्तीमा १४ प्रतिशत मूल्य वृद्धि हुने दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले बताउँदै आएका छन् ।
टेलिफोनमा ११ प्रतिशत रहेको दूरसञ्चार शुल्क १३ प्रतिशत पुर्याएर इन्टरनेट सेवामा पनि सोही दरमा लगाउन थालिएको हो । टेलिफोन सेवामा करिब ३ प्रतिशत मूल्य बढ्ने अनुमान प्रधिकरणको छ । एनसेल, नेपाल टेलिकम, सुविसुलगायत विभिन्न सेवाप्रदायक कम्पनीले पनि साउनबाट शुल्क बढ्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्