इन्द्रकमल अझै जीवित छ


सपनाहरुको कुनै तालमेल छैन । न ती सोचाइहरुको तालमेल छ । यस्तै तालमेल नमिलेको अन्तरकथामा इन्द्रकमलको प्रवेश हुन्छ । जब कथाको सिलसिला मिलाउने प्रयासमा उसले आफूलाई होमिदिन्छे, तब उसको प्रयास उनीहरुको बिरुद्ध उभिन्छ । उनीहरुले इन्द्रकमललाई बन्दी बनाउने निर्णय गर्छन् । नारा र कार्यशैलीको विभाजनले इन्द्रकमलको मृत्यु तोकिदिन्छ ।

प्रोफेसर शर्मा इन्द्रकमलको घरमा प्रवेश गर्दै छन् । ऊ जान्दछे, प्रोफेसर आफूलाई बन्दी बनाउन आएका हुन् । ऊसँग भएका सबै सूचना जफत गरेर उसलाई मार्ने जिम्मा प्रोफेसरलाई दिइएको छ ।

‘आऊ प्रोफेसर, म तयार छु । मेरो सौभाग्य भनौं, तिम्रो हातबाट मर्न पाउनु !’
जान्दा जान्दै पनि इन्द्रकमलले आफ्नो दुवै हात फैलाउँदै प्रोफेसरको स्वागत गर्छे ।
प्रोफेसर चुपचाप उसको घरमा प्रवेश गर्छन् । इन्द्रकमलले प्रोफेसरलाई नियालेर हेर्छे । उनको आँखामा एउटा मानसिक थकान देखिन्छ । गहिरो उदासी र प्रशस्त पश्चातापका रेखाहरु त्यहाँ सल्वलाई रहेका हुन्छन् ।

यतिबेला सायद प्रोफेसरले बुझेका छन्, भावनाको सीमाड्ढन गरेर बौद्धिकतालाई हतियार बनाउनु एउटा असफल क्रान्ति हो । यही सोचेर इन्द्रकमलले भन्छे– ‘तिम्रो क्रान्तिका छद्मभेषी परिभाषाहरु पनि छन्, यो मलाई थाहा थिएन प्रोफेसर !’
प्रोफेसर केही बोल्दैनन् । चुपचाप इन्द्रकमलको नजिकै जान्छन् र नबोलोस् भनेर आफ्नो हातले उसको मुख थुनिदिन्छन् । प्रोफेसरको आँखाले यसरी हेरिरहेको हुन्छ मानौं इन्द्रकमललाई उनले आँखैले निल्न चाहेका हुन् ।

‘खुब भन्ने गथ्र्याै त, खबरदार ! अब कुनै पनि मानिसले त्यो मानसिक कुरुपतालाई जन्म दिने छैन । यो यात्रा त्यो बौद्धिक परिवर्तनका लागि हो । खोई त प्रोफेसर शर्मा, कहाँ छ त्यो बौद्धिक परिवर्तन ?’ इन्द्रकमलले प्रोफेसरको हात हटाएर भन्छे ।

उनले बोलिरहेकी इन्द्रकमलको मुख पुनः बन्द गरिदिन्न् । लाग्छ, उनलाई इन्द्रकमलको कुनै कुरा सुन्न इच्छा छैन । एकोहोरो लामो लामो श्वास फेर्दै उनी इन्द्रकमलको नजिकै उभिइरहन्छन् । इन्द्रकमलले बुझ्छे, प्रोफेसर अनियन्त्रित भइरहेका छन् । नियन्त्रणका सबै पर्खाल भत्काएर उनी आफूभित्र सम्मिलित हुन खोजिरहेका छन् । या, आफ्नो छातीभित्रको पीडालाई व्यक्त गर्न उनलाई अब एउटा संसर्गको खाँचो भएको छ । किनकि यस अघि प्रोफेसरले कहिल्यै उसलाई त्यसरी छोएका छैनन् । न त्यति नजिक आएर गहिरो निःश्वास छोडेका छन् ।

प्रोफेसरसँग आलिङ्गनबद्ध हुने इन्द्रकमलको बर्षौंदेखिको इच्छा हो । जसलाई प्रोफेसरले अस्वीकार गर्दै आएका थिए । एकाएक त्यसरी उपस्थित भएका प्रोफेसरलाई उसले आलिङ्गन फैलाएर स्वागत गर्छे । त्यसपछि एकएक गर्दै प्रोफेसर इन्द्रकमलको छातिमा पोखिन्छन् । मानौं, सम्हाल्नु पर्ने केही कुरा अब उनीसँग बाँकी छैन । उनका आँखाबाट अविश्रान्त बगेको आँसुमा इन्द्रकमलले आफ्नालागि व्यक्त गरिएका असीमित प्रेम अनुभव गर्छे । जसलाई प्रोफेसरले कठोरतापूर्वक लुकाएर हिडेका थिए ।

‘धन्यवाद प्रोफेसर ! आखिर त्यो आवरण भत्कियो । जहाँ आफूलाई सुरक्षित राख्न तिमी हरसम्भव प्रयास गथ्र्यौ । अब मलाई मारियोस्, मेरो कुनै गुनासो रहने छैन ।’

स्थीर भएका प्रोफेसरको पन्जाभित्र आफ्ना हातका औँलाहरु घुसाएर इन्द्रकमलले भन्छे ।

प्रोफेसरले कुनै जवाफ दिँदैनन् । चुपचाप आफ्नो अनियन्त्रित संवेगहरुलाई सम्हाल्छन्, र इन्द्रकमलको आँखामा कालोपट्टी बाँधी दिन्छन् । बन्दी बनाउनु पूर्व उनले एकपटक इन्द्रकमलको आँखामा चुम्बन गर्छन् । जुन उसले अपेक्षा गरेकी हुदिनँ ।

जब इन्द्रकमल मृत्युको बाटोमा डोरिन्छे, प्रोफेसर शून्य हुदै जान्छन् । आफूले गरेको गल्ती आफैंलाई थाहा नहुनुको पीडाले रन्थनिएको आभाष हुन्छ ।

‘प्रोफेसर शर्मा, कहाँ लगिदैछ मलाई ?’ इन्द्रकमलले सोध्छे । प्रोफेसरले कुनै जवाफ दिँदैनन् । उसको हात समातेर उनी एकोहोरो हिँडिरहन्छन् ।

‘म तिमीले नै हिँडाएको बाटोमा हिँडेकी एक यात्री हूँ प्रोफेसर ! जो आज पनि हिँडिरहेकी छ । त्यही यात्राको पक्षमा गरिएका निर्णयहरु कसरी घातक भए ? मैले केही बुझेकी छैन । यो सब के भइरहेको छ ? कृपया मलाई बताइदेऊ ।’

‘म बताउन सक्दिन, यति जान्दछु कि हामीमाथि घात भयो । ती पराजित संघर्षको बली चढ्नुपूर्व तिमीलाई स्वतन्त्र गराउन जरुरी छ ।’
प्रोफेसरले निकै लामो मौनता भत्काउँछन् ।

‘त्यसो भए म तयार छु, प्लिज सुट मी प्रोफेसर !’ ऊ हिँड्न रोकिएर भन्छे । प्रोफेसर पुनः मौन हुन्छन् । र, एकछिन उभिएर इन्द्रकमललाई अँगालो हाल्छन् । केहीबेरलाई एउटा सन्नाटा त्यहाँ उपस्थित हुन्छ ।

‘गुड बाई इन्द्रकमल ! मेरा पराजीत संघर्षहरुमा अब तिम्रो जीतको झण्डा फहराओस् ।’

उनले अँगालो भित्रबाट इन्द्रकमलको हातमा बाँधेको डोरी खोलिदिदै भन्छन् । इन्द्रकमलले आनो आँखाको पट्टी हटाएर प्रोफेसरलाई हेर्न खोज्छे ।

‘ड्याङ्ग…!’

त्यति नै बेला त्यहाँ एउटा गोली चलेको आवाज सुनिन्छ । इन्द्रकमलले छिटो छिटो आफ्नो आँखामा बाँधिएको पट्टी हटाएर हेर्छे । प्रोफेसर भुईंमा लडिरहेका हुन्छन् । उनको हातमा एउटा पेस्तोल हुन्छ ।

‘यो के गरेको प्रोफेसर ?’
इन्द्रकमल चिच्याउँदै प्रोफेसरको रगत बगिरहेको टाउको समात्न पुग्छे ।

‘ती हजारौं मानिसको मृत्यु र मेरो मृत्युमा केही फरक छैन इन्द्रकमल ! म तिम्रो हत्या गर्न सक्छु !’

उनी सासैले बोल्छन् । त्यसपछि उनको आवाज बन्द हुन्छ । इन्द्रकमलले प्रोफेसर शर्माको टाउको आफ्नो काखमा राख्छे । र, एकछिन दुवैहातले मुख छोपेर आँशु बगाउँछे ।

‘मलाई मार्न आएका प्रोफेसरले आफैंलाई गोली ठोक्न गरेको निर्णयलाई कसरी व्याख्या गर्न सकिन्छ ?’
उसले सोच्न थाल्छे । प्रोफेसरको यस्तो मूर्खतापूर्ण निर्णयले उसलाई दुखी बनाउँछ ।

‘समाज रुपान्तरणको लागि अब तिमीहरुको मस्तिष्क प्रयोग हुन जरुरी छ । मैले तिमीहरुबाट एउटा बौद्धिक क्रान्तिको अपेक्षा गरेको छु । हाम्रो मानसिक संगठनले सबैभन्दा पहिला ती कुरुप सोचहरुको अन्त्य गर्नेछ ।’

प्रोफेसर शर्माले बोलेका यस्ता वाक्यहरु उसको दिमागमा एकछिन ओहोर दोहोर गरिरहन्छ ।

‘तिम्रा भनाइहरुलाई आधार बनाएर हजारौं विद्यार्थीले विद्रोह शुरु गरेका छन् । तिमीले पढाएका पाठहरुमा जीवनको संघर्ष खोज्नेहरुलाई यस्तोे अन्तरघात कसरी गर्न सक्छौ प्रोफेसर ?’

इन्द्रकमलको आँखामा अब आँसुको साटो मौन प्रश्नका लहरहरु छचल्किन थाल्छन् । निकैबेर त्यसरी घोरिएपछि उसले वरपर हेर्छे । चट्टान, रुख र नजिकै सेतो फूलले ढाकिएको एउटा वृक्ष देखिन्छ । प्रोफेसर शर्माको टाउको काखबाट भुइतिर सारेर ऊ जुरुक्क उठ्छे । र ऊ त्यही वृक्षको फेंदमुनि जान्छे । एकछिन सोचबिचार गरेपछि उसले त्यही रुखको छहारीमा प्रोफेसरको शरीर गाडिदिने निर्णय गर्छे ।

त्यसपछि प्रोफेसरलाई लतार्दै त्यही रुखको फेंदमुनि लैजान्छे । ढुङ्गा,घाँसपात पन्छ्याउँछे र प्रोफेसर शर्मालाई सुताउँछे । एक पटक उनको निधारमा चुम्बन गर्छे । त्यसपछि तिनै घाँसपातले उनको शरीर छोपिदिन्छे । थाकेर लखतरान भएकी इन्द्रकमल नजिकैको ठूलो ढुंङ्गामा गएर फालिन्छे । हावाको झोक्काले रुखका सेता फूलहरु बररर झारिदिन्छ । छिनभरमै प्रोफेसर शर्माको चिहान सेता फूलहरुले ढाकिँदै गएको उसले हेरिरहन्छे ।

‘संघर्ष पराजित हुदैन प्रोफेसर ! पराजित तिमी भयौ, आफ्नै सोचाइहरुसँग । आफ्नै योजना र कार्यशैलीसँग । साच्चै भन्ने हो भने तिम्रो मस्तिष्क पराजीत भो !’

प्रोफेसर शर्माको चिहान हेरिरहेकी इन्द्रकमल भुत्भुताउँदै उठ्छे र हिँड्न थाल्छे । बाटोमा चन्द्रप्रकाश लेखिएको एउटा सुरुंगमार्ग फेला पर्छ ।

‘के प्रोफेसर शर्माले अब मलाई चन्द्रप्रकाश लेखिएको सुरुंगमार्गमा हिँड्न निर्देशन गरेका हुन् ?’

इन्द्रकमलको मनमा प्रश्न उठ्छ । तर प्रोफेसर शर्मा र चन्द्रप्रकाश एउटै कागजमा लेखिएका भिन्न कथा हुन् । चन्द्रप्रकाशले कोरेको बाटोमा हिँड्न प्रोफेसर शर्माले निर्देशन गर्न सक्दैनन् । प्रोफेसर शर्मा र चन्द्रप्रकाशको विवादमा एकछिन अल्मलिएपछि इन्द्रकमल सुरुंगमार्गमा प्रवेश गर्छे ।

सुरुंगमार्गको प्रवेशद्वार निकै अँध्यारो छ । फेरि पनि उसले त्यो सुरुंग भित्र जाने नै निर्णय गर्छे । केहीबेर हिँडेपछि अलिकति उज्यालो देखिन्छ । त्यसपछि ऊ बारुद बालेर उज्यालो पारिएको मार्गमा पुग्छे । बारुद विष्फोटक चीज हो, यो ऊ जान्दथी । किनकि उसले विरोध गर्दागर्दै पनि प्रोफेसर शर्माको बौद्धिक संगठनले भौतिक सर्वनासको लागि पछिल्लो समय थुप्रै बारुदखानाहरु तयार गरिसकेको थियो । त्यही बारुदबाट यसरी उज्यालो पनि बल्छ भन्ने कुरा चैं उसलाई बडो रोचक लाग्छ ।

सुरुंगमार्गमा मानिसहरुको कुनै आवतजावत छैन । जताततै सन्नाटा मात्र महसुस हुन्छ । इन्द्रकमलले एकपटक आनो नाडीतिर हेर्छे । घडीमा दुई बजेको हुन्छ ।

‘एकै ठाउँमा रोकिनुको कुनै अर्थ छैन । यहाँबाट फर्किन नपाउँदै आफ्नो विभत्स हत्या हुनेछ । सुरुंग मार्गको यात्रालाई निरन्तरता दिनु नै उपयुक्त हुनेछ ।’
त्यसपछि बारुद ल्याम्प र भित्ताहरुको निरीक्षण गर्दै ऊ अघि बढ्छे ।

‘भुरुररर……!’

एकाएक तर्साउने गरी एक जोडी काला चमेराहरु उसको अगाडि उडेर आउछन् । इन्द्रकमलले त्यो सन्नाटा केही खल्बलिएको महसुस गर्छे । डरलाग्दो गहिराई भएको त्यस सुरुंगमार्गमा यस अघि कुनै पुत्लाहरु यसरी जुर्मुराएका थिएनन् । बस्, उसको बाहिरी कानले एउटा विलयको धुन सुनिरहेको थियो ।

ति चमेराहरु एकछिन उसको अघिल्तिर भिन्भिनाउँछन् र पँखेटा फट्फटाएर सुईंकुच्चा ठोक्छन् । ऊ टक्क रोकिएर ती चमेराहरु उड्दै गएको मार्गतिर हेर्छे । जुन मार्गमा ऊ आफू पनि यात्रारत छे ।

‘के थिए होलान् ती ? ईश्वरका दूत थिए या कुनै सैतानी दिमागले गोप्य रुपमा खटाएका गुप्तचर ?’

मनमा एक किसिमको संशय उत्पन्न हुन्छ ।

‘जेसुकै हुन्, तिनीहरुसँग मेरो कुनै बैरभाव छैन । अब मार्ग सुनसान छ ।’

यति सोचेर ऊ फेरि हिँड्न थाल्छे । बारुद ल्याम्पको उज्यालोमा सुरुंगमार्ग प्रष्ट देखिन्छ ।

‘माटो र ठूला ठूला पहरालाई छिचोलेर जमिनभित्र पुगेको सुरुंगको भित्तामा यी बत्ती कसले बालेको होला ? के यहाँ भित्र रहस्यको संसार छ ?’

‘भुरुररर……!’

सोचाइहरुलाई डिस्टर्व गर्दै पुनः अर्को जोडी चमेराहरु जमीनबाट होइन, सुरुंगमार्गका भित्ताबाट निस्किन्छन् । र, उसको अगाडि आएर उसैगरी भिन्भिनाउँछन् । एकछिन इन्द्रकमलको मार्ग रोकेर उनीहरु पनि सुरुंगमार्गको गहिराइतिरै उडेर जान्छन् । लाग्छ, उसको चेक जाँच भइरहेको छ । इन्द्रकमल आउदै गरेको सूचना पु¥याउन चमेराहरु गहिरो गुफातिर कुदिरहेका छन् । तिनै चमेराको भिन्भिनाहट बाहेक सुरुंगमार्गमा यात्रा गर्न इन्द्रकमललाई कुनै कठीनाइ हुदैन ।

एक प्रहरको यात्रा सकिएपछि गुफाभित्र विभिन्न कलाकृित कँुदिएको एउटा काठको द्वार फेला पर्छ ।

‘के होला यस द्वारभित्र ?’

इन्द्रकमलले त्यस काठको द्वार बिस्तारै धकेल्छे । भित्र शान्त र शीतल अवस्थामा रहेको एउटा शयन कक्ष फेला पर्छ । वर्षौदेखि गहिरो मौनता साँधेको जस्तो लाग्ने त्यस शयन कक्षमा कोही देखिदैन । ससाना छिद्रहरुबाट छिरेका थोप्ला थोप्ला उज्यालो शयन कक्षका भित्ताभरि टाँसिएका हुन्छन् ।
इन्द्रकमल गुफाको विशाल कक्षमा प्रवेश गर्छे । केहीबेर निरीक्षण गरेपछि थाहा ा हुन्छ, त्यस कक्षलाई प्रयोजनमा ल्याएर त्यहाँ कोही बस्दै आएको छ । किनकि कक्षको एक छेउमा एउटा सानो टेबल छ । टेबलमाथि एउटा चुरोटको एष्ट्रे र एउटा पानीको गिलास । भित्ता खोपेर बनाइएको आलमारीमा केही थान किताबहरु पनि छन् ।

शयन कक्षको अर्को छेउमा माथि उक्लिन मिल्ने एउटा काठको भ¥यांग देखिन्छ । त्यही भ¥यांग मुन्तिर इन्द्रकमलले अघि सुरुंगमार्गबाट उडेर आएका चमेराहरुलाई झुण्डिएको देख्छे ।

‘यो सब के रहस्य होला ?’

उसले आफ्नो कान ठाडा बनाएर सुन्ने प्रयास गर्छे । भ¥यांगको माथि पट्टी कोही ओहोर दोहोर गरिरहेको हुन्छ । अब उसले आफ्नो आँखालाई चनाखो राख्दै दुई खुड्किला भ¥यांग उक्लिएर माथितिर नियाल्छे ।

माथि सेतो कुर्ता पाइजामा लगाएको एउटा लुखुरे शरीरले केही पकाइरहेको हुन्छ । लामो दाह्रीले छोपिएको त्यस मान्छेको अनुहार उसले चिन्न सक्दिन । विशेष प्रकारको टोपी लगाएको श्वेत पुत्ला जस्तो मानव आकृतिले हातमा दुईवटा गिलास लिएर भ¥यांग हुदै ओर्लिने तयारी गर्छ । इन्द्रकमल भ¥यांगबाट तल झरेर शयनकक्षको बीच भागमा गएर उभिन्छे । र, ओर्लदै गरेका पैतालाहरु पछ्याउँछे । पातलो शरीरमा टासिएको सेतो कुर्ता पाइजामा एक तमासले फरफर गरिरहेको हुन्छ ।

त्यो कुर्ता पाइजामा उडाउने बतास कहाँबाट चलिरहेको होला ?
इन्द्रकमलले आश्चर्यपूर्वक हेरिरहन्छे ।

अन्ततः कुर्ता पाइजामा लगाएको मानिससँग इन्द्रकमलको आमनेसामने हुन्छ । कतै देखे जस्तो लाग्ने उक्तm मानिसको अनुहार बडो शान्त थियो ।

‘आउनुस, बसेरै चिया पिउँ ।’ उनले इन्द्रकमललाई चिने जस्तो गरी भन्छन् । र, टेबलसँगै रहेको पुरानो कुर्सीमा गएर बस्छन् ।

‘म आउँदै छु भन्ने तपार्इंलाई कसरी थाहा ा भयो ?’ सोध्दै इन्द्रकमल अर्को कुर्सीमा गएर बस्छे ।

‘तपार्इंं नै भन्ने थाहा थिएन, तर कोही आउदै छ भन्ने थाहा ा थियो ।’

‘कसरी ?’

‘ऊ त्यो भ¥यांग मुनि झुण्डिइरहेका चमेरालाई त तपाइंले देख्नु भयो होला !’

‘हो यिनीहरुले मेरो यात्रामा एकछिन रोक लगाएका थिए ।’

‘यो सुरुंगमार्गमा कोही प्रवेश गरेपछि मात्रै यिनीहरु उडेर यहाँ आइपुग्छन् । अनि

मलाई थाहा ा हुन्छ कोही सुरुंग भित्र प्रवेश गरिरहेको छ । वाइ द वे, तपार्इंको नाम ?’

‘इन्द्रकमल !

‘ओहो, इन्द्रकमल ! ल अब यो बुढो हातले बनाएको चिया पिउनुस् ।’
उनले एउटा चियाको गिलास इन्द्रकमललाई दिन्छन् ।

‘कतै त देखेकी हुँ यिनलाई ।’

एउटा तरंग उठेर इन्द्रकमलको स्मृतिका सारा ढोका ढक्ढकाउँदै मस्तिष्कको कुना कुनासम्म पुग्छ । कतै कोप्चेरोमा अड्किएर बसेको एउटा तस्वीरलाई हुत्याउँदै उसको आँखा अगाडि ल्याई पु¥याउँछ ।

‘तपार्इंं त्यही चन्द्रप्रकाश हो ?’
उसले सोध्छे ।

‘त्यही भनेको को ?’

दाह्रीले छोपिएको अनुहार अलिकति मुस्कुराउन खोज्दै बोल्छन् । उसले ध्यान दिएर त्यो अनुहारलाई हेर्छे । हुबहु चेहेरा र उनको शरीरमा भएको टोपी तल माथि लाग्दैन । मात्र दाह्री जुँगा बढेर नचिनिने भएको हो कि जस्तो लाग्छ ।
‘केही वर्ष पहिले त्यो बौद्धिक संगठनको बिरुद्ध कुरा गरेको भनेर मृत्युदण्ड दिइएको थियो नि ! प्रोफेसर शर्माले नै उनको हत्या गरेका हुन् भन्ने कुरा मैले छापामा पढेकी थिएँ ।’

‘प्रोफसर शर्माले कसरी मेरो हत्या गर्न सक्छन् ? उनको कलम समाउँदा थरथराउने हातले बन्दुक चलाउनु असम्भव कुरा हो !’ आफ्नो लामो दाह्री मुसार्दै शान्त शैलीमा उनले भन्छन् ।

‘तर उनले बन्दुक चलाए चन्द्रप्रकाश ! त्यो पनि आफ्नै टाउकोमा । मेरै अगाडि उनले आफ्नो हत्या गरिदिए ।’

‘प्रष्ट छ । उनको चेतनाले अरुको हत्या गर्न सक्दैन । यसैकारण उनले मलाई मार्न सकेनन् । मैले यही कुरा उनलाई धेरै अगाडि सम्झाउन खोजेको थिएँ । उनले शुरु गरेको क्रान्तिले एकदिन उनैलाई सिध्याउने निश्चित थियो ।’

‘कसरी ?’

‘जहाँसम्म तपार्इं प्रोफेसर शर्माकी स्टुडेण्ट हुनु पर्छ ।’

‘हो, तर म आफूलाई उनकी प्रेमिका भन्न रुचाउँछु ।’

‘प्रोफेसर शर्माकी प्रेमिका त तपार्इं हुनै सक्नुहुन्न । प्रोफेसर शर्मा तपार्इंंको प्रेमी होलान् त्यो अर्को कुरा हो । किनकि म जान्दछु प्रोफेसरले यूनिर्भसिटीलाई बिद्रोह उत्पादनको भर्ती केन्द्र बनाएका छन् । त्यहाँबाट हरेक दिन लाखौं विद्यार्थी बिद्रोही बनेर निस्किन्छन् र युद्धमा सामेल हुन्छन् ।’

‘माफ गर्नुहोला चन्द्रप्रकाश ! उनको बौद्धिक संगठनको एक कार्यकर्ता म पनि हुँ ।’
‘हुनुहुन्थ्यो । तर अब तपार्इं त्यस संगठनको कार्यकर्ता होइन । बिद्रोही हुनु भएको छ । र उनीहरुले तपार्इंंलाई मार्ने निर्णय गरिसकेका छन् ।

‘यो सब तपार्इंलाई कसरी थाहा ा भयो ?’

‘तपार्इं यहाँ आइपुग्नु नै त्यो कुराको खुलासा हो । जसले उनीहरुको संगठनको विरुद्ध कुरा गर्छ, उसलाई प्रोफेसरले मार्ने निर्णय गरिदिन्छन् । तर मार्न सक्दैनन् । जसको मृत्यु तोकिन्छ उसलाई सुरुंगमार्गको द्वारसम्म ल्याएर छोडिदिन्छन् ।’
‘मलाई लाग्छ, प्रोफेसर शर्मा यी सब कुराबाट अन्जान थिए ।’

‘विल्कुल थिएनन । उनी जान्दथे, एकदिन ती कुरुप र छद्मभेषी निर्णयका बिरुद्ध उनी निरीह हुने छन् । र, उनले निर्माण गरेको बौद्धिक संगठनको सबैभन्दा खराब अन्त्य हुनेछ । त्यो बेला उनले मेरो कुरा सुन्न चाहेनन् । उल्टो मलाई मार्ने निर्णय गरियो । तर उनले मलाई मार्न सक्ने कुरा थिएन । अन्तिममा यही सुरुंग मार्गको द्वारमा छोडेर जान उनी वाध्य भए । त्यतिबेलै मैले उनलाई भनेको थिएँ, की अब त्यो बौद्धिक संगठन होइन, कुख्यात अपराधीहरुको झुण्ड भएको छ । र, तिमीले शुरु गरेको बौद्धिक क्रान्तिको भौतिक विनाश शुरु भइसकेको छ । क्रान्ति एउटा व्यापार मेला बनिरहेको छ । बिश्व बजारमा त्यो व्यापार मेलाको व्यापकता यसरी फैलिइरहेको छ कि त्यसलाई रोक्न तिम्रो तत्वज्ञान असमर्थ हुनेछ । तर प्रोफेसरले मेरो कुरा सुनेनन् । उनी अगाडि बढे । र, पराजयको श्रृंखलालाई निरन्तरता दिइरहे ।

‘तपार्इंलाई मेरो कुरा आश्चर्य लागिरहेको हुन सक्छ । तर, यही सत्य हो । जसले मृत्युको व्यापार मेला रोक्ने प्रयास गर्छ, त्यसलाई जरैदेखि समाप्त पारिन्छ । यही नै त्यो बौद्धिक संगठनको बहुराष्ट्रिय नीतिले गर्दै आएको कार्य हो । म विश्वासका साथ भन्न सक्छु, त्यही आधारमा तपार्इंंको मृत्यु तोकिएको छ ।’
चन्द्रप्रकाश बोल्दै जान्छन् । इन्द्रकमलले आँखा नझिम्काएर चन्द्रप्रकाशलाई हेरिरहन्छे ।

‘चाहेको भए म उहिल्यै यस गुप्तबासबाट मुक्त हुन सक्थें । तर यहाँबाट निस्केर पुनः मृत्युको व्यापार मेलामा सहभागिता जनाउनुको अर्थ छैन ।’ उनी एकछिन रोकिन्छन् । लामो श्वास लिन्छन् । र भन्छन् ‘चन्द्रप्रकाशको विचारले अबको संसार चल्दैन इन्द्रकमल ! न तपार्इंंको अडानले चल्छ । प्रोफेसरको तत्वज्ञानलाई बिश्व बजारले उल्टाइदिएको छ । अब बिश्व बजारमा सिर्फ मृत्युको व्यापार मेला चल्ने छ । त्यो मेलामा जसले धेरै मृत्युको व्यापार गर्न सक्छ, संसार उसैको हातमा जाने छ … ।’

‘प्रोफेसर शर्माको बौद्धिक क्रान्तिलाई यति भयावह कसरी भन्न मिल्छ चन्द्रप्रकाश ?’

‘प्रोफेसरले भावुकतालाई घृणा ग¥यो । प्रेमलाई प्रगतिको बाधक ठान्नु नै उसले शुरु गरेको मानसिक क्रान्तिको हार हो ।’

‘तर मलाई बन्दी बनाउनु पूर्व उनको कमजोर आत्मा छताछुल्ल भएर पोखिएको थियो र त्यहाँ प्रेम थियो चन्द्रप्रकाश !’

‘प्रोफेसर शर्माको प्रेमलाई स्थान दिन मिल्ने आधार छैन इन्द्रकमल ! उनले आफ्नो ज्ञानसँग गरेको खेलवाड घृणाको चरम उत्कर्ष हो ।’

यतिबेला चन्द्रप्रकाशको शान्ति केही बिथोलिएको छ । उनको अनुहारमा एकाएक पीडाको तरंग सलबलाउन आइपुगेका छन् ।

‘के भो चन्द्रप्रकाश ? किन तपार्इंंको अनुहारमा पीडाका रेखाहरु सल्बलाएका छन् ?’
‘प्रोफेसरले मेरो जीवनको गोरेटोलाई एउटा गुफामा सीमित गरिदियो । मेरो चेतनाको आकाश र भावनाको संसार दुबै कुरासँग विच्छेद भएको दिन म चाहेर पनि बिर्सन सक्दिनँ ।’

‘प्रोफेसर शर्माले भावुकतालाई सधै घृणा गरे । तर घृणाका बावजुद पनि आएर उनी मेरो हृदयमा पोखिए । त्यो एउटा महान कार्य हो ।’

‘त्यो महान कार्यको कुनै अर्थ छैन । उसको मष्तिस्कले हरेक व्यक्तिलाई युद्ध जित्न नसक्ने बिद्रोही बनाउँछ । रक्तभूमिमा बौद्धिकताको झण्डा गाड्ने उनको निर्णय नै गलत छ । जुन दिन उसले हतियारसँग आफ्नो तत्वज्ञानको सम्झौता ग¥यो, त्यही दिन ऊ पराजित भयो ।’

‘अब त प्रोफेसर शर्माको शरीर पनि पराजित भइसक्यो चन्द्रप्रकाश ! सुरुंगमार्गको प्रवेशद्वार अगाडि रहेको त्यो सेतो फूलको वृक्षमुनि प्रोफेसर शर्माको लास छ । मैले नै उनलाई त्यहाँ गाडेर आएकी हुँ । तपार्इंलाई थाहा छ, मलाई मार्न आएका प्रोफेसरले कसरी आफ्नै कञ्चटमा पेस्तोल पड्काए ? त्यो निर्णयभन्दा ठूलो त्याग र प्रेम अरु के हुनसक्छ ? उनीबाट मैले बुझेको परिवर्तन यही हो । भलै प्रोफेसर शर्माले आफूलाई समाप्त गरे तर उनले दिएको तत्वज्ञान समाप्त भएको छैन चन्द्रप्रकाश ! किनकि इन्द्रकमल अझै जीवित छ ।’

चन्द्रप्रकाश मौन हुन्छन् । जुरुक्क उठेर शयन कक्षमा पुग्छन् । र आँखा चिम्लिएर उनी विस्तारामा पल्टिन्छन् । उसले आँखा चिम्लिरहेका चन्द्रप्रकाशलाई हेर्छे । उनको सेतो दाह्री उसलाई सेतो फूलले ढाकिएको वृक्ष जस्तो लाग्छ । जहाँ प्रोफेसर शर्माको शरीर चीर निन्द्रामा सुतिरहेको हुन्छ । लाग्छ उनकै छहारीमा प्रोफेसर शर्माले विश्राम गरिरहेका छन् । त्यती नै बेला एक लहर चीसो बतास कतैबाट आएर इन्द्रकमलको शरीरमा ठोकिन्छ । उसले आँखा चिम्लिन्छे । स्मृतिमा सेता फूलहरु प्रोफेसर शर्माको लाशमाथि झरिरहेका देखिन्छन् ।

(बीएन पुस्तक संसारले केही दिनअघि सार्वजनिक गरेको रोशीको कथाकृति ‘मध्यान्तर’ भित्रका एउटा सिर्जना)

प्रतिक्रिया दिनुहोस्