इलाम पुगेर जनप्रतिनिधिलाई ओलीको सुझाव– ‘जनताले कामको जुवा भिराएका छन्, रंगिला नबन्नुहोस्’


२४ साउन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधिलाई चुनाव जितेपछि फूलका माला र खादा लगाएर मात्र जिम्मेवारी पूरा नहुने बताएका छन् ।

इलाम पुगेर प्रदेश १ का जनप्रतिनिधिहरुको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘जनताले कामको जुवा भिराएर पठाएका छन् । जनप्रतिनिधिहरुले जनताको भावना शिरोधार्य गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘रंगिला मनाउन चुनाव जितेको होइन, राम्रो काम गरेर देखाउनुस् ।’

ओलीले नीति, कार्यक्रम र विचारमा एमाले कांग्रेस–माओवादी भन्दा धेरै अघि भएको दाबी समेत गरे । ‘प्रतिष्पर्धाबाट डराएका दलहरुले एमाले विरुद्ध स्याल हुँइया पिटाए धेरै ठाउँमा विजयी भए । अबका चुनावमा पनि त्यस्ता हुइयाँ चलाउने, अवरोध सिर्जना गर्नेहरुसँग सचेत भएर काम गर्नुपर्छ ।’

ओलीले स्थानीय तहको निर्वाचनपछि एमाले सबै भन्दा ठूलो दल बनेको स्मरण समेत गराए । ‘एमालेभित्र लागेका थुप्रै ग्रहणहरुलाई हटाएर यो सफलता हासिल गर्न एमाले सफल भयो,’ उनले भने ‘अझै विदेशी ग्रहणहरु लागिरहेका छन् । यीनलाई पनि हटाउनु छ ।’

उनले दुई नम्बर प्रदेशमा एमालेलाई छिर्न नदिने भन्दै दलहरुले मोर्चाबन्दी गरिरहेको भन्दै त्यहाँ पनि पहिलो दल बन्ने दावी गरे ।

कार्यक्रममा एमाले वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोख्रेललगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्