इस्तानबुल आक्रमणप्रति एमालेको भत्सर्ना


१५ असार । टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणको सत्तारुढ नेकपा (एमाले) ले विरोध गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार वक्तव्यमार्फत भन्नुभएको छ, ‘उक्त आतंकवादी हमलाको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ ।’

एमालेले अतिवादी हमलाबाट जीवन गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा उनीहरुका परिवारजनमा गहिरो समवेदनासहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । आतंकवादी उक्त घटनाबाट ३५ भन्दा बढीको ज्यान गएको छ ।

एमालेले भनेको छ– ‘विश्वका कुनै पनि भू–भागमा हुने आतंकवादी क्रियाकलाप तथा अतिवादी विचारप्रति हामी गम्भीर असहमति व्यक्त गर्दछौं साथै कुनै पनि अमानवीय हर्कतको निन्दा गर्दछौं ।’

साथै, पछिल्ला दिनमा विश्वमा बढ्दै गएको आतंकवादी गतिविधि तथा अतिवादी विचारप्रति चिन्ता व्यक्त गर्दै एमालेले ‘मानव जातिको हित तथा विश्व शान्तिका लागि ठोस पहल गर्न’ सबैमा अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्