उत्कर्षमा पुग्यो भारत–पाकिस्तानबीचको तनाव


१४ असोज । तेह्र दिनअघि भारतको युरीस्थित सेनाको बेसक्याम्पमा आक्रमण हुँदा १८ भारतीय सैनिक मारिएपछि चर्किएको भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ ।

युरी आक्रमणको प्रतिक्रियास्वरुप बुधबार राति भारतीय सेनाले पाकिस्तानको सीमा क्षेत्रमा ‘सर्जिकल आक्रमण’ गरेपछि कश्मीर विवादका कारण वर्षौंदेखि कटुतापूर्ण सम्बन्ध रहेको यी दुई दक्षिण एसियाली देश युद्धको तयारीमा जुटेको संकेत मिलेको छ । बुधबार रातिको सैनिक अप्रेसनमा पाकिस्तानको २ किलोमिटर क्षेत्रभित्र गएर सेनाले आक्रमण गरेको थियो ।

भारतीय पक्षले पाकिस्तानको सीमा क्षेत्रमा अवस्थित ‘आतंकवादी’ को शिविर ध्वस्त पारेको दाबी गरेको छ । आक्रमणमा कयौं शिविर ध्वस्त पार्नुका साथै दुई पाकिस्तानी सेना र ४० जनाजति ‘आतंकवादी’ मारिएको भारतीय पक्षको दाबी छ । तर, पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको पुष्टि गर्दै केही घाइते भएको जनाएको छ ।

आफ्ना १८ सैनिक मारिएपछि भारतले त्यसको प्रतिक्रिया दिने संकेत दिइरहेको थियो । र, बुधबार रातिको हमलापछि भने भारत पूरै युद्धको तयारीमा रहेको देखिएको छ । पाकिस्तानी सीमा क्षेत्रमा अप्रेसन गर्नुअघि भारतले सीमावर्ति क्षेत्रका १० किलोमिटर गाउँ खाली गराउनसमेत लगाएको थियो । बुधबारयता सीमा क्षेत्रमा तैनाथ सैनिकहरुको बिदा रद्द गराउनुका साथै ठूलो मात्रामा सैनिक परिचालन गरिएको हुँदा यी दुई देशबीचको युद्ध झनै चर्किने सम्भावना बढेको छ ।

भारत–पाकिस्तानबीचको तनावपछि विश्वका शक्तिशाली राष्ट्रहरुले ती देशहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् । अमेरिका, चीन र रुसले तनाव कम गर्दै संयमता अपनाउन आग्रह गरेका हुन् । तर, यी दुई देशबीच भने कुनै पनि बेला युद्ध भड्किन सक्ने सम्भावना विस्तार हुँदै गएको छ ।

भारत–पाकिस्तानबीचको तनावले निकट समयपछि हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलन स्थगित भएको छ । पाकिस्तानको इस्लामावादमा हुने दसौं सार्क शिखर सम्मेलनमा भारतले भाग नलिने बताएपछि सम्मेलन स्थगित हुन पुगेको हो । सार्कका ८ वटा मुलुकमध्ये एउटा मुलुकले सम्मेलनमा भाग लिन अस्वीकार गरेको खण्डमा सम्मेलन स्थगित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्