उद्धार तथा राहत तीव्र : एउटै जिल्लामा दुई लाखसम्म पीडित


काठमाडौँ, ३० असार । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।
तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराउनुभएको छ । यसैगरी सङ्घ, प्रदेशबाट आवश्यक थप सहयोग प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भने, “राहतका लागि स्थानीय तहले केन्द्र र प्रदेशसँग समन्वय गरी काम अगाडि बढाएको छ, केन्द्रबाट त्रिपाल, डुङ्गा र उद्धारका लागि जनशक्ति तराई पठाइएको छ । ”
यातायात अवरुद्ध हुँदा तराई क्षेत्रको बाढी प्रभावितको उद्धार गर्न समस्या आइरहेको खनालले बताए । तथापि जसरी सकिन्छ डुबान र बाढीको चपेटामा परेकालाई उद्धार गरी सुरक्षित राख्ने पहल भइरहेको उनले बताए, “उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनै अङ्गका सुरक्षा निकायलाई एकमुष्ट परिचालन गरिएको छ । ”
नेपाली सेनाको चारवटा हेलिकप्टर आइतबार तराई पुगेका छन् । तिनले अत्यधिक विपद्मा परेका क्षेत्र, बस्ती र मानव समुदायको पहिचान र अवस्थिति पत्ता लगाउन सघाएको छ । साना साधन पुग्न नसकेका स्थानमा पुगेर उद्धारकर्मी पु¥याउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
“प्रदेश २ को सिराहा, सप्तरी, रौतहटलगायत विपद् स्थलका लागि एउटा हेलिकप्टरलाई सोही क्षेत्रको पृतनामा तैनाथ राखिएको छ । ” उनले थपे, “अर्को तीनवटाले जहाँ आवश्यक पर्छ, त्यहाँ राहत, उद्धार सामग्री र जनशक्ति ओसारपसारमा सघाइरहेको छ । ” पाण्डेका अनुसार डुबान क्षेत्रमा जमेको पानीलाई निकास दिन काठमाडौँबाट जेनेरेटर लगायतका अत्यावश्यक उपकरण तराई पु¥याइएको छ ।
सशस्त्र प्रहरीले पनि प्रदेश २ लाई केन्द्र बनाएर उद्धारलाई तीव्रता दिएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए । “उद्धारलगत्तै राहत ढुवानीको योजना बनाएर अगाडि बढेका छौँ,” उनले भने, “जसका लागि गृह मन्त्रालयले दिएको मापदण्डअनुसार काम गर्नेछौँ । ” उनले भने भएझैँ यतिबेला राहत वितरण र विपत्तिमा परेकाको संरक्षणमा स्थानीय तह र सरोकार निकाय खटिएका छन् । अलपत्र परेकालाई सुरक्षित राख्ने काममा भने केन्द्र, प्रदेश र स्थानीय तीनै तहले समन्वय गरेर काम गरिरहेका छन् ।
उद्धारमा कठिनाइ
कमला, बाग्मती, सप्तकोसीजस्ता ठूला नदी र स्थानीय नदीको बहाव एकैचोटि बढेकाले गाउँ तथा सहरका अधिकांश भूभाग डुबानमा पर्नुअघि केही क्षेत्रका बासिन्दालाई पहिल्यै अन्यत्र
सारिए ।
तर नभ्याइएका अधिक मानव बस्तीमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएपछि भने स्थानीय तह र निकायलाई उद्धारमा हम्मेहम्मे नै परेको छ ।
विशेषगरी शनिबार अविरल वर्षा कायम रहँदाको अवस्था, बाटो, पुल बगाएको अवस्था र स्थानीय तहसँग साधनस्रोत शून्य अवस्थाका कारण अप्ठेरो परेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिए ।
तर, आइतबार मौसममा सुधार आई पानी पर्न कम भएको र उद्धारका लागि थप साधनस्रोत जुटेपछि भने उद्धार तीव्र पारिएको उनीले बताए । “आइतबारसम्म उद्धारलाई नै विशेष प्राथमिकता दिएका छौँ,” सुनसरीका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले भने, “बाढी घटेकाले अवस्था सुधारोन्मुख छ । ”

छपन्नवटै ढोका खोलियो
तटीय क्षेत्र र गहिरो भूभागका ३६० घरधुरीका एक हजार बढी मानिसलाई सुरक्षित स्थानमा शिविर खडा गरेर राखिएको उनले बताए । स्थानीय सरकार र सरोकारवाला मिलेर खानपिन र बन्दोबस्तीको व्यवस्था मिलाइएको उनले बताए ।
उनले तथ्याङ्क सङ्कलन र उद्धारकार्य सकेपछि आवश्यक थप राहत उपलब्ध गराउने बताए । त्यस क्षेत्रमा कोसीको त्रास कम गर्न शनिबार राति कोसी ब्यारेजका ५६ वटा ढोका खोलिएका थिए । अहिले केही ढाका बन्द गरिएका छन् । फेरि नदीको बहाव बढेमा आवश्यकताअनुसार ढोका खोल्न पहल हुने उनले जानकारी दिए ।
सप्तरी जिल्लामा भने त्रियुगा नदीको तटबन्धले सबैभन्दा बढी क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । “सप्तकोसी नगरपालिकाका चारवटा वडा, अन्यत्रका गहिरो भूभाग सबै नै डुब्यो,” उनले जिल्लाको अवस्थितिबारे थपे, “हनुमाननगर, क्याक्मेश्वरी, बुधेश्वरमलगायत क्षेत्रको १५ हजारभन्दा बढी घर डुबेको अवस्था छ । ”
जनकपुरको धनुषास्थित जनकनन्दिनी गाउँपालिकामा कमला नदी सोझै पसेकाले अवस्था अझै दयनीय रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज काफ्लेले जानकारी दिए । “बाटो, पुल केही छैन,” उनले भने, “पाँच सय परिवारका २० हजार मानिसलाई विद्यालय, मस्जिद, मदरसालगायत क्षेत्रमा राखिएको छ । ” प्रतिकूल मौसमका कारण शनिबार प्रशासनले चाहेर पनि खाना पु¥याउन नसकेको पीडा उनले व्यक्त गरे । आइतबार भने स्थानीय सरकारको पहलमा खानेपानीको बन्दोबस्त गरिएको छ ।

झन्डै दुई लाख पीडित
महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । रातु, विगी, अकासी, जङ्घाहा, मराहा लगायतका स्थानीय खोला बस्तीमा पसेको हो । उनले भने, “दसवटा नगरपालिकाका ४० हजार घरपरिवार अलपत्र छन्, झन्डै दुई लाख मानिसलाई राहत र संरक्षण दिन कठिनाइ छ । ”
सरकारी कार्यालय, कारागार सबै डुबानमा परेकाले समन्वय गर्न पनि साधनस्रोत अभाव रहेको उनी बताउछन् । उद्धार गरेकामध्ये बस्ने ठाउँ नै नभएकालाई गाउँपालिका भवन, स्कुल, सामुदायिक भवन र उच्च क्षेत्रमा सुरक्षित गरिएको छ । उनले बेलैमा सुरक्षित स्थानमा सारिएकाले जनधनको क्षति कम भएको बताए ।
अहिले त्रिपालबाहेक अन्य ठोस राहत वितरण नभएको उनले बताए । खानापानी, औषधि र बस्ने ठाउँको भने तत्काल व्यवस्था गरिएको छ । यकिन तथ्याङ्क सङ्कलन गरी स्पष्ट मापदण्ड सरकारले दिएपछि अन्य राहत वितरणको प्रक्रिया सुरु हुने उनले बताए ।
उदयपुर जिल्लामा दुई हजार घरपरिवारका १० हजार हाराहारी सङ्ख्याका मानिस बाढीका कारण अलपत्र छन् । उपलब्ध स्रोतसाधनका आधारमा उद्धार जारी राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले भने, “हालसम्म छ हजारको उद्धार गरियो, खाद्यान्न, लत्ताकपडा सबै नष्ट भएर बस्ने ठाउँ नै नभएका नौ सय व्यक्तिलाई शिविरमा राखिएको छ । ”
अर्को अत्यधिक बाढी प्रभावित जिल्ला सिराहामा आइतबार राति अबेरसम्म पनि उद्धार जारी रह्यो । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, “सबै डुबेको छ, सबैतिर सहयोग आवश्यक छ, कमला नदी जोडिएकाले यहाँ डुबान कायमै छ । ” कल्याणपुर, लहान, मिर्चैयालगायत जिल्लास्थित १७ वटा स्थानीय तह नै डुबेको उनले बताए । पक्की घरको दोस्रो तलामात्र बासस्थान बनेको छ ।

वर्षा पश्चिमतिर बढ्ने
बिहीबारदेखिको अविरल वर्षा मध्य र पूर्वी क्षेत्रमा केही दिनभित्र मत्थर हुँदै जाने आँकलन मौसमविद्ले गरेका छन् । “मनसुन न्यूनचापीय रेखा तराई आसपास आकाशमा पुगेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, “वर्षा ठ्याक्कै रोकिन्न तर भारी वर्षाको क्रम भने कम हुँदै जानेछ । ” उनका अनुसार केही दिन पूर्व, मध्य र पश्चिमका समथर भेगमा सामान्य बदली रही केही क्षेत्रमा भारी वर्षा हुनेछ । तीनवटै क्षेत्रका पहाडी भेगमा भने भारी वर्षाको सम्भावना प्रवल रहेकाले पहिरोको उच्च जोखिम छ ।
न्यूनचापीय क्षेत्रको सक्रियता कम हुँदै न्यूनचापीय रेखामात्र हाल सक्रिय रहेकाले वर्षाको घनत्वमा कमी आएको उनले बताए । काठमाडौँमा भने मङ्गलबारदेखि तुलनात्मक रूपमा कम पानी पर्नेछ । वर्षा कम भएपछि ठूला, मझौला तथा साना नदीको बाढीको बहाव ह्वात्तै घटेको बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सुनिल पोखरेलले बताए ।
पोखरेलले भने, “पूर्वमा जोखिम घटेको अवस्था हो, पश्चिमतिर भने वर्षा र बाढी दुवैको अवस्थामा बढोत्तरी हुनसक्छ । ” प्रदेश १, २ र ३ को साना नदीका जलाधार क्षेत्रमा वर्षा हुँदा भने आकस्मिक बहाव हुनसक्ने छ । यी क्षेत्रमा सोमबारदेखि मौसम सामान्यीकरण हुँदै जाने महाशाखाले अनुमान गरेको छ ।

गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्