उपत्यकामै ढुंगाले हानेर व्यवसायीको हत्या


३ माघ । पछिल्लो समय आपराधिक समूहबाट व्यवसायीहरुको हत्या हुने क्रम बढेको छ । केही दिनअघि बुटवलका व्यवसायी वसन्त पौडेलको हत्याको घटना सेलाउन नपाउँदै बुधबार भक्तपुरमा माटो व्यवसायमा संलग्न एक व्यवसायीको हत्या भएको छ ।

माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको प्रहरीले जनाएको छ । बुधबार बिहान ५ बजे सैंजूको शव भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा भेटिएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ढुंगाले हानेर हत्या गरिएको आशंका गरेको छ । मृतकको टाउकोको पछाडि गम्भीर चोट लागेको छ । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाको थप अनुसन्धान सुरु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्