उपसभामुख यादव निवर्तमान भएकै भोलिपल्ट एमालेमा


२९ असोज । उपसभामुखबाट बिदा भएकै भोलिपल्ट गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि यादव राप्रपाबाट उपसभामुखमा निर्वाचित भएका थिए ।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एक कार्यक्रमसहित निवर्तमान उपसभामुख यादव एमाले प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेताले एमालेमा स्वागत गरेका थिए ।

एमालेमा प्रवेश गर्दै यादवले एमालेले लिएको नीतिकै कारण आफू एमालेमा प्रवेश गरेको बताए । उनले भने, ‘विगतमा एमाले सरकारमा रहँदा राष्ट्रियताको पक्षमा जुन अडान लिएको थियो, म त्यसबाट प्रभावित थिए । राष्ट्र र जनताको पक्षमा एमालेले लिएको सही अडानकै कारणमा म एमालेमा प्रवेश गरेको हुँ ।’

निवर्तमान उपसभामुख यादव राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट रहे पनि जिम्मेवारीमा रहेका कारण अरु राजनीतिक दलमा प्रवेश गर्ने अवस्था थिएन । तर, अध्यक्ष थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको सपथ लिएकै भोलिपल्ट यादवले सो दल परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश कार्यक्रममा यादवले अध्यक्ष थापाप्रति संकेत गर्दै अरु पार्टीका नेतालाई देशको चिन्ता नभएको र पद पाए पुग्ने भनी व्यंग्य पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्