उपेन्द्रले राजपासँग चुनावी तालमेल गर्ने भएपछि सेलायो लोकतान्त्रिक गठबन्धन


२६ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संघीय समाजवादी फोरमले राजपासित मात्र तालमेल गर्ने संकेत गरेपछि नेपाली कांग्रेसको अगुवाइमा बनेको लोकतान्त्रिक गठबन्धन टुट्ने देखिएको छ । कांग्रेसको पहलमा गठित लोकतान्त्रिक गठबन्धनमा समाजवादी फोरम रहे पनि तालमेल भने राजपासँग गर्ने तयारी सो दलले गरेको छ ।

बुधबार मात्रै रुपन्देही पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपासँग मात्र तालमेल गरेर जाने संकेत दिएका हुन् । चुनावी तालमेलकै लागि यसअघि ती दुई दलबीच सहमति भइसकेको छ । कांग्रेसको पहलमा गठित लोकतान्त्रिक गठबन्धनमा सामेल भएको केही दिनपछि नै ती दुई दलबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।

वाम गठबन्धन भएपछि चुनावी तालमेल र एकीकरणको प्रक्रियालाई अघि बढाउने सहमति बनेलगत्तै कांग्रेसले बनाएको लोकतान्त्रिक गठबन्धनमा राजपा र संघीय फोरम पनि सामेल भएको थियो । तर, राजपा र संघीय फोरमले कम्तिमा पनि संघमा ५५ सिट मागेपछि तालमेलको प्रक्रिया अघि बढ्न सकेको छैन । चुनावी तालमेल हुने संकेत नदेखिएपछि सो कार्यदलको संयोजक विमलेन्द्र निधिलाई सबै जिम्मा सुम्पिएको थियो । त्यसयता लोकतान्त्रिक गठबन्धनको बैठक बस्न सकेको छैन ।

राजपा र संघीय फोरमले भने स्थानीय तहको चुनावलाई आधार मानेर आफ्नो प्रभाव क्षेत्रमा तालमेल गरेर जाने देखिएको छ । २ नम्बर प्रदेशको चुनावी परिणामपछि हौसिएका ती दुई दलले चुनावी तालमेल गरेर अधिकांश ठाउँमा जित्ने योजना बनाएका छन् । २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा मात्रै ती दुई दलले ४५ स्थानमा विजय प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्