उपेन्द्र यादव नेतृत्वको सङ्घीय गठबन्धन तराईमा निर्णायक आन्दोलन गर्ने तयारीमा


७ पुस । सङ्घीय गठबन्धनले निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिले गैरभौगोलिक प्रदेशसहित १० वटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी निर्णायक आन्दोलनका लागि जनमत निर्माण गर्ने निर्णय गरेको हो ।  गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले आगामी एकसाताभित्रै काठमाडौँमा बृहत् अन्तरक्रिया गर्ने निर्णय गरको छ ।

बैठकले सरकारले ल्याएको संविधान संशोधनको समेत आलोचना गरको छ । सरकारसँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधन प्रस्ताव नआएको भन्दै बैठकले परिमार्जनसहित व्यवस्थापिका–संसद्मा अविलम्ब प्रक्रिया बढाउन माग गरेको छ ।

संविधान संशोधनको विरोधका नाममा नेकपा एमालेले दिएको अभिव्यक्ति मुलुकमा जातीय सामाजिक सहिष्णुतालाई भड्काउने र मुलुकलाई विभाजन गर्ने कार्य भएको पनि गठबन्धनले ठहर गरेको छ ।

गठबन्धनले जारी गरको विज्ञप्तिमा सङ्घीयता, गणतन्त्र, धर्म, निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्य तत्काल बन्द गर्न पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्