उपेन्द्र, हृदयेश र विजयकुमारहरुले स्वीकारेकै हुन् त सात प्रदेशको सीमांकन ?


 ११ मंसिर । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादीले  मुलुक संघीय संरचनामा जाने निश्चित भएसँगै सात प्रदेशको खाका कोरे । उनीहरुले नै संविधानमा पनि सात प्रदेश हुने ग्यारेण्टी गरे । तर, तीन ठूला दलको त्यो पुर्नसंरचना मधेस केन्द्रित दलले पटक्कै मन पराएनन् ।

त्यसमा पनि तराई मेधस लोकतान्त्रिक पार्टी (तमलोपा), उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल, राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावनालगायतका दलले त खुलेरै विरोध गरे । सात प्रदेशको खाकालाई मन नपराएको विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोमर लोकतान्त्रिक भने संविधान जारी भएपछि गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भयो । तर, अन्य मधेसी दलले भने त्यही कुरामा गम्भीर असहमति प्रकट गर्दै लामो समयसम्म सीमामा धर्ना बसेर देश नै ठप्प बनाए । अहिले पनि उनीहरु त्यही अडानमा छन् । अर्थात कांग्रेस, एमाले र माओवादीको सहमतिमा बनेको सात प्रदेशलाई हेरफेर गर्नुपर्ने अडानमा छन् ।  राज्य पुर्नसंरचनामै विवाद भएपछि एमाले परित्याग गरेका अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता नेता त झन अहिलेको पुर्नसंरचनाको विरोधी नै हुन् ।

तर, विहीबार भने त्यसरी सात प्रदेशको पुर्नसंरनाको विरोध गर्दै आएका नेताहरु पनि सात प्रदेश स्वीकार गर्न बाध्य भए । नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियु  र युवा संघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘संविधान संशोधन र कार्यान्वयनको प्रश्न’ विषयक ‘बिग बहस’ कार्यक्रममा तमलोपाका हृदयेश त्रिपाठी, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव पनि सहभागी थिए । त्यति मात्र होइन नेपाली कांग्रेसका प्रकाशमान सिंह, माओवादीका टोपबहादुर रायमाझीदेखि, जनमोर्चा नेपालकी दुर्गा पौडेलसम्मको त्यहाँ उपस्थिति थियो ।

कार्यक्रममा ती संगठनले सात प्रदेशसहितको नक्शा प्रमुख अतिथि केपी शर्मा ओलीसहित मञ्चमा बसेका सबै नेतालाई हस्तान्तरण गरे । कार्यक्रम सञ्चालक अनेरास्ववियुकी नविना लामाले सम्बोधनका क्रममा नेपालको नक्शा ग्रहण गर्न सबै नेतालाई आग्रह गरिन् । मञ्चमा बसेका सबै नेता उठे, सात प्रदेशको विरोध गर्ने त्रिपाठी, श्रेष्ठदेखि, देव र पौडेलसम्मले त्यो नक्शा एकै चोटी ग्रहण पनि गरे । उनीहरुले प्रसन्न हुँदै नेपालको नक्शा ग्रहण गर्दा हलभरी तलाी गुञ्जियो । मञ्चमा बसेको नेताहरु पनि मुस्कुराए । तस्बिरमा पनि त्रिपाठी, देव र श्रेष्ठले सात प्रदेशको नेपालको नक्शा समाएको देखिन्छ ।

तराई पुग्दा टाउकोमा गम्छा बाँध्ने अनि हिमालमा पुग्दा शेर्पा पहिरन र मुस्लिम, आदिवासी–जनजातिका कार्यक्रममा पुग्दा त्यही अनुसारका पोशाक लगाएर एकै छिन भए पनि ती समुदायको ध्यान केन्द्रित गर्ने नेताहरुले अखिल र युवा संघले दिएको सात प्रदेशको नेपालको नक्शालाई पूर्णता दिने हुन वा क्षणिक मात्रै हो ? त्यो भने हेर्न बाँकि नै छ ।

प्रतिक्रिया दिनुहोस्