उम्मेदवार टुंग्याउन नसक्दा राजपामा भाँडभैलो


१८ भदौ । स्थानीय तहको तेस्रो चरणअन्तर्गत हुन गइरहेको २ नम्बर प्रदेशको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गर्दै हिँडेको नेपाली कांग्रेसलाई मनोनयन गर्न चार दिन बाँकी रहँदा उम्मेदवार टुंग्याउन जति सकस परेको छ, त्योभन्दा कम सकस मधेस केन्द्रित राजनीति गरिरहेको राजपालाई परेको छैन । उम्मेदवारका आकांक्षीहरु धेरै देखिएपछि राजपालाई सम्हाल्न गाह्रो परिरहेको छ । राजपाले शनिबारसम्म उम्मेदवार टुंग्याइसक्ने बताउँदै आएको थियो ।

राजपाभित्र आकांक्षीहरु धेरै निस्किएपछि सो पार्टीको उम्मेदवार टुंग्याउने जिम्मेवारी पाएको उच्च स्तरीय समितिलाई निकै अप्ठेरो परेको छ । अहिलेसम्म बाराबाहेक अरु जिल्लाबाट उम्मेदवारहरुको टुंगो लागेर उच्च स्तरीय समितिसमक्ष नआइसकेको हुँदा उम्मेदवारी चयनमा समस्या देखिएको हो ।

वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका, राजविराज, गौर, लहानजस्ता नगरहरुमा आकांक्षी धेरै निस्किएपछि पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनाव बहिस्कार गरेको राजपालाई तेस्रो चरणमा भने उम्मेदवार टुंग्याउन गाह्रो परेको हो । २ नम्बर प्रदेशका प्रमुख नगरहरुमा मात्र होइन, गाउँपालिका तहमा समेत राजपाका आकांक्षीहरु धेरै निस्किएका छन् । आकांक्षीहरु बढेसँगै सो प्रदेशका सबै जिल्लामा गठित ६ सदस्यीय उच्च स्तरीय समितिलाई उम्मेदवार टुंग्याउन सकस परेको हो ।

राजपाभित्र उम्मेदवार बन्न चाहनेहरु धेरै निस्किए पनि अरु मधेसी दल संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमभित्र भने खासै विवाद देखिएको छैन । यी दुवै दलले सो प्रदेशका अधिकांश तहमा उम्मेदवार टुंग्याइसकेका छन् । संघीय समाजवादीले त स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा चौथो स्थान ल्याउन सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्