एउटा युवकले ल्याएको हलचल


काठमाडौं । राजनीतिले टेकेकै भूगोलमा उभिएर साहित्य कतिपय सन्दर्भमा ठीक उल्टो तर्क गरिरहेका हुन्छन् । जस्तो, साहित्य भन्छ– जून टाढा भएर राम्रो देखिन्छ  । तिमी टाढाबाट हेर । राजनीतिमा टाढा हुँदै गएपछि सवै कुरा मन पर्न छोड्छ ।

सायद यतिबेला कन्हैयाकुमार धेरैलाई राम्रो लाग्न सक्छन् । कन्हैयाको विचार जसलाई मन पर्छ । कन्हैयाको हाँस्ने शैली, बोलीको जाँदु, निर्भिक तर्क र उनको सरलता ।

३२ वर्षीय कन्हैयाको कतिपयलाई केही पनि मन नपर्न सक्छ । तर, दुवैतिरका हृदयमा कन्हैया जबर्जस्त बसेका छन् । त्यो अनौठो कुरै भएन । किनभने, विश्व शक्तिका रुपमा उदाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसले भन्दा कन्हैयाले बलियो जवाफ दिइरहेका छन् ।

कंग्रेसका आइकन राहुल गान्धीका धेरै जवाफ मोदीले हाँसीमजाकका साथ दिएका छन् । साँधुभेषी मोदीका लागि कंग्रेसलाई दिने थुप्रै जवाफ छन् । तर, जब कन्हैयाको प्रश्न उठ्छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुलाई मात्रै होइन, स्वयम मोदीलाई पनि पसिना छुट्छ ।

कन्हैयाको तर्कका सामु मोदी बलियो तर्कै गर्न सक्दैनन् । फेरि मोदी मिडियामैत्री छैनन् भने कन्हैया जुनसुकै मिडियाका आलोचनालाई तर्कसम्म खण्डन गर्ने प्रयत्न गर्छन् ।

फेरि हलचल

खरो वक्ता र तर्कशील कन्हैया फेरि एक पटक अन्तरराष्ट्रिय पर्दामा देखिएका छन् । भारतमा लोकसभा निर्वाचन नजिकिएको छ । अनि, नेपालसँग जोडिएको बिहारको बेगुसरायबाट कन्हैया उम्मेद्वार छन् ।

कन्हैयाका अन्तरवार्ता लिन बिबिसीलगायत अन्तरराष्ट्रिय सञ्चार माध्यमहरू बेगुसराय नै पुगिसकेका छन् । कन्हैया पनि उस्तै पुरानै शैलीमा शानदार भाषण गरिरहेका छन्, आफ्नो उम्मेद्वारी पुष्टि गर्न ।

भन्दैछन्– जितहारका लागि होइन, मुक्तिका लागि बेगुसराय आएको छु । जेएनयूबाट पीएचडी कन्हैया २०१६ देखि अन्तरराष्ट्रिय राजनीतिक पर्दामा देखिएका हुन् । जब विद्यार्थी युनियनमा वाम उम्मेद्वारका रुपमा सभापति बने । यसपछि उनी खरो रुपमा उत्रिए । र, मोदीको टाउको दुखाइ बनिरहे ।

प्रतिक्रिया दिनुहोस्