एकताको तयारी पूरा भइसक्यो, दुई दिनको समय राखेर कुनै पनि बेला एकता घोषणाः प्रधानमन्त्री ओली


काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको पार्टी एकताको सबै तयारी पूरा भइसकेकाले कुनै पनि बेला एकता घोषणा हुनसक्ने बताएका छन् । एकतासँग जोडिएका सबै विषयको छलफल टुंगिसकेकाले तयारीका लागि दुई दिन समय राखेर कुनै पनि बेला एकताको मिति घोषणा हुनसक्ने ओलीले स्पष्ट पारे ।
‘दुई÷तीन दिनको मिति राखेर कुनै पनि बेला पार्टी एकताको मिति घोषणा हुन्छ, सबै तयारी पूरा भइसक्यो’, युवा संघ नेपालको स्थापना दिवसलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘एकता प्रक्रिया टुंग्याउन अब कुनै समस्या छैन, निकट भविष्यमै दुवै पार्टीबीच एकता हुँदैछ ।’
पत्रकारमाथि खनिए ओली
एमाले–माओवादी कता फर्किएका छन् वुधबार बालुवाटार आउनुस्
प्रधानमन्त्री ओलीले दुई पार्टीबीचको एकताका सबै विषय टुंगो लागिसके पनि मिडियाले भाँडियो भन्दै गलत समाचार लेखेकोप्रति आक्रोश पोखे । ‘एकता हुँदैन भनेर लेख्नेले लेखेको लेख्यै छन्, उनीहरुले लेख्दैमा हुने केही होइन, कतिपयले नेताहरु दुईतिर फर्किएको फोटो पनि छापेका छन्, उनीहरुलाई त्यस्तै लेख्न र फोटो छाप्न पशुपतिनाथले शक्ति प्रदान गरुन्’, एकताबिरुद्ध गलत समाचार सम्प्रेषण भएकोमा व्यंग्य गर्दै ओलीले थपे,‘त्यसरी लेख्ने र फोटो छाप्ने तपाईंहरु सबैलाई भोलि(वुधबार) बिहान बालुवाटारमा निम्तो छ, माओवादी र एमालेहरु कता फर्किएका छन् राम्रोसँग देख्न पाउनुहुनेछ ।’ ओलीले एकतासँग जोडिएको सबै विषय टुंगो लागिसकेकाले वुधबारकै एकता संयोजन समितिको बैठकबाट एकता घोषणाको मितिबारे छलफल हुनसक्ने स्पष्ट संकेतसमेत गरे ।

२ नम्बरका मुख्यमन्त्रीले मति बिर्गानुभो कि
प्रधानमन्त्री ओलीले २ नम्बरका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा दिएको अभिव्यक्ति सरकारको आधिकारिक भनाई नभएको स्पष्ट पार्दै खण्डन गरे । ‘प्रदेश २ को मुख्यमन्त्रीको अभिव्यक्ति नेपाल सरकारले जिम्मा लिँदैन । स्वागत गर्दा नीति बताएको हो कि, मति बिगारेको हो त्यो जे गरे पनि उहाँकै गल्ती भयो ।’ प्रधानमन्त्रीले भने ।

 

प्रतिक्रिया दिनुहोस्