एकताको व्यबधानः प्रचण्डको तीन अडान, सहअध्यक्षपछि अढाई वर्षमा प्रधानमन्त्री, महाधिवेशनपछि एकल अध्यक्ष


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवश–गत ९ वैशाखमै पार्टी एकता गर्ने पूर्व समझदारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को तीन अडानका कारण लम्बिएको छ । पार्टी एकता पहिल्यै आफ्नो भविष्य सुनिश्चित गरिनुपर्ने अडान राख्दै प्रचण्डले निरन्तर अर्घेल्याईं गरेका कारण एकता लम्बिएको हो । उनको अडानले तत्काल वार्ता मिलिहाल्ने संकेत नदेखिएका कारण कम्तीमा एक महिनाका लागि एकता लम्बिएको अनुमान गरिएको छ ।
सकभर ९ गतेअगावै एकता टुंग्याउने कसरतका लागि गत ६ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच १२ घण्टाभन्दा बढि ‘वान अन वान’ निरन्तर वार्ता सम्पन्न भयो । तर, लगातारको वार्तामा प्रचण्डले कम्तीमा १० वर्ष आफू पार्टी र सरकारमा प्रमुख कसरी भइन्छ ? भन्दै लिखित सुनिश्चितता मागेपछि ९ वैशाखमा राष्ट्रियसभामा आयोजित स्थापना दिवशको कार्यक्रमले कुनै नयाँ उल्लेखनीय सन्देश दिन सकेन । भित्री वार्ता सकारात्मक नभएका कारण बाहिर समानताका आधारमा ५०÷५० प्रतिशत हिस्सेदारीसहित एकता हुनुपर्ने एकोहोरो प्रचार गराउँदै ९ वैशाखको कार्यक्रममा प्रचण्डकै डिजाईनअनुसार ‘ब्यानर काण्ड’ घटाइएको छ ।
त्यसो त, एकताका लागि राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक संरचनासमेत टुंगिसके पनि प्रचण्डले केन्द्रदेखि सेल कमिटी(प्रारम्भिक तह)को कमिटीसम्म दुई अध्यक्षको मोडलमा एकता गर्नुपर्ने भन्दै कार्यदल तहबाटै आफू निकटका नेता मार्फत ‘बार्गेनिङ’ सुरु गराएका थिए । एकताअगावै त्यस्तो प्रस्तावमार्फत बिभाजनको बिजारोपण गर्न खोजिएपछि एमालेतर्फका नेताहरुले प्रचण्डको बार्गेनिङ रणनीतिप्रति गम्भीर आपत्ति जनाएका कारण उक्त विषय एकता संयोजन समिति हुँदै दुई अध्यक्षको तहमा पुगेको थियो । प्रचण्डको त्यही बार्गेनिङ रणनीति राष्ट्रियसभामा ब्यानर काण्डका रुपमा प्रकट भएको छ । लेनिन जयन्ती भन्दा पनि नेपाल कम्युनिष्ट स्थापना दिवसका अवसरमा कार्यक्रम गरिएकाले फोटो राखेर लेनिनप्रति माल्र्यपण गर्दा हुने सामान्य प्राविधिक विषय उछाल्दै माओवादी पक्षले ब्यानरमा लेनिनको तस्वीर नभएको भन्दै समानन्तर ब्यानरमा मात्र कार्यक्रम सम्भव रहेको अडान राख्यो र अन्तिममा त्यसैगरी कार्यक्रम सम्पन्न भयो ।
एमालेले बनाएको मूल ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको मात्र तस्वीर भएको भन्ने नाममा माओवादीले ब्यानर फेर्नुपर्ने या समानन्तर ब्यानरमा कार्यक्रम गर्नुपर्ने अडान राखेर बराबर हैसियतका नाममा प्रचण्डले आफ्नो भविष्य पार्टी प्रमुख र प्रधानमन्त्रीका रुपमा सुनिश्चित भए मात्र एकता हुने सन्देश दिएका छन् । एकताको अन्तिम कसरत भइरहेका कारण प्रधानमन्त्री ओलीसहितका नेताहरु र एमाले कार्यकर्ताहरु त्यस दिन संयमित नभइदिएको भए जस्तोसुकै घटनासमेत हुनसक्थ्यो । तर, एमालेले एक कदम ‘ब्याक’हटेर भए पनि एकता गर्नुपर्ने आम जनता र दुवै पक्षका समर्थक र कार्यकर्ताको भावनालाई सम्मान गरेकाले अन्तत कार्यक्रम भने सफलतापूर्वक सम्पन्न भएको थियो ।
प्रचण्डको तीन अडान
अहिले अध्यक्ष या सहअध्यक्ष
एमाले र माओवादीबीच एकीकृत पार्टीमा महाधिवेशनसम्म दुई अध्यक्ष रहने सहमति भइसकेको छ । आलोपालो अध्यक्षतामार्फत दुई अध्यक्षले पार्टीको नेतृत्व संचालन गर्दा दुई अध्यक्ष राख्ने कि सहअध्यक्ष राख्ने मात्र अन्तिम टुंगो लाग्ने बाँकी छ । आलोपालो प्रणालीमा दुवैको हैसियत समान रहनेगरी विधान बने पनि प्रचण्डले आफूले पनि ओली सरह कार्यकारी अभ्यास गर्न पाउनुपर्ने अनौठो अडान राखेका छन् । कम्युनिष्ट पार्टीमा जसले अध्यक्षता ग¥यो, उसैको हस्ताक्षर हुने भएकाले अध्यक्षता गरेको बेला प्रचण्डको मर्यादाक्रम माथि हुने र हस्ताक्षर चल्ने स्पष्ट हुँदाहुँदै कस्तो समान कार्यकारी हैसियत खोजेको हो भन्ने कुरा उनी स्वयंले अहिलेसम्म स्पष्ट पार्न सकेका छैनन् । यो कारण पनि एकताको गाँठो अझै फुक्न सकेको छैन ।
अढाई वर्षपछि आलोपालो प्रधानमन्त्री
ओलीसँगको वार्तामा प्रचण्डले पार्टी एकता सम्पन्न भइसकेपछि अढाई वर्षपछि आलोपालोमा आफू प्रधानमन्त्री हुनेगरी सहमति हुनुपर्ने अडान राखेका छन् । एकीकृत पार्टीले साँढे दुई वर्षपछि निर्णय गर्ने कुरालाई प्रचण्डले अहिल्यै प्रधानमन्त्री ओलीबाट लिखित सुनिश्चितता खोजेपछि एकताको हलो अड्किएको छ । उच्च स्रोतका अनुसार प्रचण्डले यसअघिका ‘जेन्टलमेन एग्रिमेन्ट’ कार्यान्वयन हुन नसकेको विषय उठाएर अहिल्यै लिखित सहमति गर्नुपर्ने विषयलाई जोडतोडका साथ भित्री वार्तामा उठाएका छन् । तर, बाहिर भने आफू निकटका नेताहरुलाई त्यो कुरा नउठेको र जेन्टलमेन्ट एग्रिमेन्ट भएकाले लिखित सहमति नखोजेको प्रचार गराइरहेका छन् । करिब ३० वर्षदेखि उनले जसरी एकल नेतृत्वका रुपमा प्राधिकार लिएर पार्टी चलाईरहेका छन्, अहिले त्यसैगरी पार्टी एकतापछि पनि पार्टी केन्द्रीय कमिटीको सार्बभौम अधिकारसमेत अहिल्यै आफूमा निहित हुने सुनिश्चिता प्रचण्डले खोजेका छन् । अहिलेसम्म कुनै विधि, विधान र प्रक्रियाबिना पार्टी संचालन गर्ने प्रचण्डको शैलीलाई अन्धभक्त समर्थन गरिरहेका कतिपय माओवादी नेताहरुले उनको त्यो चाहना र योजनालाई लुकाएका, छिपाएका मात्र छैनन् एकोहोरो समानताका आधारमा पार्टी एकताको प्रचार गरिरहेका छन् । यद्यपि, कतिपय माअओवादी नेता र सांसदहरु भने उनको त्यस्तो अडानले पार्टी एकता भंंग हुनसक्ने खतरा रहेको भन्दै लचकताका साथ प्रस्तुत हुनुपर्ने दबाब खडा गरिरहेका छन् । कतिपय नेता र सांसदहरु निरन्तर एमाले नेताहरुको सम्पर्कमा देखिन थालेका छन् । कुनै नीति र विधिमा दृढता र अडान नभएकाले प्रचण्डको चाहनाबमोजिम मौसम अनुसार नीति फेरिरहने माओवादीमा उनको चाहनालाई बल पुग्नेगरी एमाले जस्तो पार्टीलाई पनि लतार्न खोजिएकोमा आश्चर्य मानिएको छ । जबकी प्रचण्डको एकल नेतृत्व करिब तीन दशक कायम रहिरहँदा एमाले यस्तो पार्टी हो, जहाँ मनमोहन अधिकारी, मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनालहुँदै केपी ओलीसम्म आईपुग्दा नीति र विधिअनुसार ५ ओटा नेतृत्व फेरिएको छ । स्वयं वतर्मान अध्यक्ष ओली सातौं र आठौं महाधिवेशनको दुई पटकसम्मको प्रयासमा, अझ एक पटक त पराजितसमेत भएर पहिलो पटक नेतृत्वमा स्थापित भएका छन् । उनले आफू कहिल्यै एउटा कक्षा दोहोरिने विद्यार्थी नभएको भन्दै एकताको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरिसकेका छन् । ऐतिहासिक एकता प्रक्रियामा योगदान पु¥याउने प्रचण्डलाई सहयोग गर्नसक्ने प्रष्ट संकेतलाई पनि उनले गहिराईबाट बुझ्न चाहेका छैनन् ।
एकता महाधिवेशनपछि एकल अध्यक्ष
प्रधानमन्त्री ओलीले आफू अर्को महाधिवेशनमा नदोहोरिने संकेत गरेपछि प्रचण्डले अढाई वर्षपछि प्रधानमन्त्री हुने सुनिश्चितता मात्र होइन, सर्बसम्मत अध्यक्ष चयन हुनुपर्ने भन्दै अहिल्यै आफूलाई एकीकृत पार्टीको अध्यक्ष सुनिश्चित हुनेगरी समझदारी हुनुपर्ने अर्को शर्त पनि तेस्र्याएका छन् । दुई पार्टी मिलेपछि हुने लाखौं कार्यकर्ता सदस्य र समर्थकहरुको सार्वभौम अधिकार मुठीमा कैद गर्न खोजेर प्रचण्डले एकताको महाधिवेशनलाई नै औचित्यहीन सावित गर्दै अहिल्यैदेखि कार्यकारी प्रमुख खोजेका छन् । महाधिवेशनले सर्बसम्मत या चुनावबाट नेतृत्व चयन गर्ने हो । जुनसुकै विधिबाट नेतृत्व चयन गर्ने अधिकार कार्यकर्ताबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरुको अधिकारको कुरा हो । अझ सबैभन्दा योग्य नेतृत्व चयन गर्नकै लागि महाधिवेशन आयोजना गरिन्छ । संसारभर स्थापित यो विधिलाई प्रचण्ड एउटा व्यक्तिले चुनौति दिएर आफ्नो भविष्यको सुनिश्चितता खोजेर एकता अड्काउन खोजिएको विषयलाई माओवादी नेता–कार्यकर्ताले नबुझ्नु अर्को आश्चर्य मात्र होइन, कुनै उपायबाट पार्टी एकता भइहाले पनि कस्तो पार्टी बन्ला र त्यसले मुलुकलाई कसरी नेतृत्व गर्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस्