एकतापछि पनि एमालेकै नाममा अनुशासन आयोगको बैठक, भंग गर्ने तयारी


काठमाडौं, १० असार । पार्टी एकीकरण सम्पन्न भएको एक महिना सात दिनपछि एमाले केन्द्रीय अनुशासन आयोगको बैठक शनिबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । पार्टी एकता सम्पन्न भइसके पनि एमालेकै नाममा आयोगको बैठक बसेको अध्यक्ष अमृतकुमार बोहराले बताए ।
‘पार्टी एकीकरणपछि पहिलो बैठक बसेका हौं, केन्द्रीय कमिटीको एकता भइसके पनि आयोग भंग भइसकेको छैन, एकीकरण पनि भइसकेको छैन’, बोहराले भने,‘यो तत्कालीन एमालेको केन्द्रीय महाधिवेशनबाट निर्बाचित निकाय भएकाले कसैले भंग गर्न पाउँदैन, आफैं बैठक बसेर भंग गरिसकेपछि मात्र एकीकरण प्रक्रियामा जानेछ ।’
उनले बैठकले पार्टी एकताले सार्थकता पाएकोमा खुशी व्यक्त गर्दै बैठकले समाजवाद प्राप्तिको दिशामा एकीकरण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको बताए । बोहोराले केही दिनभित्र अर्को बैठक बसेर आयोगलाई भंग गर्दै एकीकरण प्रक्रिया बढाउने तयारी भइरहेको जनाए । प्रस्तावित एकीकृत पार्टीको विधानले आयोगको भूमिका संकूचन गरिएको भन्दै बोहरा असन्तुष्ट रहँदै आएका छन् । उनले पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’लाई प्रस्तावित विधान परिमार्जनका लागि लिखित प्रस्ताव बुझाउँदै सम्पादनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्