‘एकतामा ढिलाई हुँदा रात गए अग्राख नपलाउला भन्न सकिन्न’


काठमाडौं, १ जेठ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले  ढिलाई हुँदै जाँदा समस्या थपिदैं जानसक्ने भएकाले तत्काल  एकता प्रक्रिया टुंगो लगाउनुपर्ने बताएका छन् ।

युवा संघ स्थापना दिवशका अवसरमा मंगलबार आयोजित युवा भेलालाई सम्बोधन गर्दै नेपालले त्यस्तो बताएका हुन् । ‘रात गए अग्राख पलाउँछ भन्ने नेपाली उखान जस्तै एकता प्रक्रिया टुंग्याउन ढिलो हुँदै गए समस्यामाथि समस्या थपिदैं जानसक्छ’, नेपालले भने,‘त्यसैले छिटोभन्दा छिटो एकता प्रक्रिया टुंग्याइहाल्नुपर्छ ।’ एकता प्रक्रियामा कुनै समस्या नभए पनि मिडियाले भाँडिए जस्तैगरी सम्प्रेषण गर्दा बाहिर गलत सन्देश प्रवाहित भएको भन्दै नेपालले तत्काल छलफल गर्ने बितिक्कै अविश्वास र आशंका अन्त्य हुने ठोकुवा पनि गरे ।

‘एकता कुनै पनि हालतमा भाँडिदैन, कहिले चुनाव, कहिले विदेशीको भ्रमणले मात्र पर सरकोे हो, मिडियाले भाँडिएकै हो जसरी सम्प्रेषण गर्दा पनि गलत सन्देश सम्प्रेषित भएको हो, संयोजन समितिको बैठक बसेर छलफल गर्ने बितिक्कै सबै विषय मिलिहाल्छ, नमिल्नुपर्ने कुनै कारण नै छैन ।’ उनले प्रचण्डसँग आजको भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समितिको बैठक बोलाउने विषयमा छलफल भएकोसमेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्