एकता टुंग्याउने अन्तिम कसरत


काठमाडौं, २० वैशाख ।एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच पार्टी एकता तत्काल टुंग्याएर अघि बढ्ने समझदारी भएको छ ।
नेपाल निवास कोटेश्वरमा बिहान दुई नेताबीच एकीकृत पार्टीको संगठनात्मक व्यबस्थापनमा केन्द्रीत रहेर आधा घण्टा छलफल भएको हो । नेपालका स्वकीय सचिव मोहन गौतमले दुवै नेताबीच एकीकृत पार्टीमा संगठनात्मक व्यबस्थापन कसरी मिलाउने विषयमा केन्द्रीत रहेर छलफल भएको जानकारी दिए । ‘उहाँहरुले एकीकृत पार्टीको संगठनात्मक व्यबस्थापनमा केन्द्रीत रहेर छलफल गर्नुभएको हो, गौतमले भने,‘छलफलबाट तत्काल एकता टुंग्याएर अघि बढ्ने उहाँहरुबीच समझदारी भएको छ ।’
वरिष्ठ नेता नेपालसँगको भेटवार्तापछि दिउँसो प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ । एकताका विषय करिब–करिब टुंगो लागिसकेकाले एकता घोषणासभाको मितिलगायतमा आजैको छलफलमा समझदारी गरेर पार्टी एकता संयोजन समितिको बैठक बोलाउने दुवैतर्फका नेताहरुको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्