एकता ‘ब्रेक थ्रु’का लागि बालुवाटारमा संयोजन समिति बस्दै


काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको एकताबारे छलफल गर्न आज साँझ पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे संयोजन समितिको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।
बैठकमा राजनीतिक, सांगठनिक र अन्तरिम विधानसँग सम्बन्धित केही असहमतिका विषयमा छलफल गर्ने नेताहरुको तयारी छ । दुवै पार्टीका तर्फबाट एकीकरण गर्दा केन्द्रदेखि तल्ला कमिटीसम्म संख्याको अनुपात, चुनाव चिन्ह् र विधानको प्रस्तावनामा जनयुद्ध लेख्ने÷नलेख्ने विषय टुंगो लाग्न बाँकी छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि नेताहरुले मिल्न बाँकी विषयमा समझदारी जुटाउने प्रयास गर्दै आएका छन् ।
गत २२ गते बसेको बैठकले लेनिन दिवस २२ अप्रिल अर्थात ९ वैशाखमा पार्टी एकता गर्ने निर्णय गरेको थियो । एकता घोषणासभामा लाखौं उतार्न दुवै दलले आन्तरिक तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्