एकदेव आले प्रतिष्ठान भवनवारे दशक लामो बिवाद अन्त्य


कम्युनिष्ट नेता एकदेव आलेको स्मृतिमा तनहुँमा गठन भएको एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानको भवनबारे एक दशक लामो विवाद अन्त्य भएको छ । शुक्रवार जिविस तनहुँका स्थानिय विकास अधिकारी वद्रि प्रसाद तिवारीको अध्यक्षतामा वसेको प्रमुख राजनैतिक दल र एकदेव आले स्मृती तथा चिन्तन प्रतिष्ठानको संयुक्त वैठकले एकदेव आले स्मृती प्रतिष्ठान र जिविस तनहुँ विचको जग्गा विवाद समाधान गरेको हो ।

प्रतिष्ठानको व्यास २ को कि नं १७० को हाल प्रयोगमा रहेको पुस्तक वाचनालय भएको जग्गालाई कि नं १०३६ को हाल ग्यास डिपो भएको जग्गा उपलब्ध गराउने सहमति भएको प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्कीले बताए । यस्तै व्यास २ को वाचनालय भएको जग्गालाई जिविसले प्रयोग मा ल्याउने र व्यास १० को कि नं १०३६ को जग्गामा संस्कृति मन्त्रालय मार्फत आएको रु ४० लाख संझौता गरि भवन निर्माण कार्य सम्पन्न गर्ने सहमति भएको छ ।

प्रतिष्ठानले व्यास १० को कि.नं १०३६ मा एक ढलान भवन निर्माण गरिसके पछि व्यास २ को पुस्तक वाचनालाय आफ्नै भवनमा सार्ने सहमति भएको स्थानिय विकास अधिकारी वद्रि प्रसाद तिवारीले बताए । वैठकमा नेपाली कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, नेकपा माओवादी केन्द्रका संयोजक हरि वहादुर चुमन साथै एकदेव स्मुति प्रतिष्ठानका अध्यक्ष श्रीराम कार्की र कोषध्यक्ष रामचन्द्र सापकोटाको उपस्थिति रहेको थियो ।

को हुन् एकदेव आले ? 

एकदेव आले किसान क्रान्तिकारी नेता थिए । राणा शासनको अन्त्य गर्न सुरु भएको २००७ सालको सशस्त्र आन्दोलनलाई सहयोग पु¥याउन आलेले आफ्नै पहलमा मुक्तिसेना गठन गरेर भिडेका थिए । मुक्तिसेनाका कतिपय योद्धाहरुले दिल्ली सम्झौताको विरोध गरेर संम्झौतापछि पनि हतियार नबिसाएकोले उनीहरुलाई पक्राउ गरी थुनामा राखिएको थियो ।

जेलमा थुनिएपछि त्यहाँ कम्युनिस्टहरुको सम्पर्क र विश्व कम्युनिस्ट आन्दोलनका रचनाहरुको अध्ययनबाट प्रभावित भएर आले नेपाली कम्युनिस्ट आन्दोलनमा लागे र आजीवन निष्ठा र सक्रियताकासाथ क्रियासिल रहे । २००८ सालमा पुष्पलालकै हातबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर गरीब किसानहरुका बीचमा आले अहोरात्र संगठन र संघर्षको काममा लागेका थिए । पुष्पलालले जेलबाट छुटेपछि कम्युनिस्ट पार्टीको सदस्यता दिइ तनहुँ जिल्लामा सम्पर्क राख्न पठाएका थिए । आलेले किसानहरुलाईृ सामन्ती शोषण र थिचोमिचोका विरुद्ध सङ्गठित गरी संर्घषमा उतारेका थिए ।

आले २०२५ सालमा प्रतिबन्धित अबस्थामा भारतको गोरखपुरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेश्रो सम्मेलनमा पुष्पलालद्वारा प्रस्तुत नयाँ जनवादी कार्यक्रमका मस्यौदाकार मध्येका एक सदस्य समेत थिए । क्यान्सर रोग लागेर २०२५ साल माघ १२ भारतको दरभंगामा उपचाररत रहदा उनको निधन भएको थियो ।

उनैको सम्झनामा तनहुँका सवै बामपन्थीहरुको सक्रियतामा प्रतिष्ठान गठन गरिएको हो । जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गामा प्रतिष्ठानले भबन बनाएपछि लामो समयदेखी विवाद थियो । ०६४ सालको जिल्ला परिषद देखी लगातार जिल्ला विकास समिति परिषदमा  छलफलमा आउने र कयौँ पटक राजनीतिक दलहरु विच जग्गाको विषयमा विवाद भैरहने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्