एकपछि अर्को गर्दै शीर्ष नेता बेदकोटमा, चन्दलाई जीतको अग्रिम बधाई


१० असार । करिब ३० हजार मतदाता रहेको कञ्चनपुरको बेदकोट नगरपालिकामा अहिले चुनावी लहर व्यापक बनेको छ । सात नगरपालिका र एक गाउँपालिका रहेको कञ्चनपुरको बेदकोट नगरपालिका तुलनात्मक रुपमा अन्य नगरपालिका र गाउँपालिका भन्दा बढी चर्चामा छ ।

कांग्रेसले आफ्नो पकट जिल्ला भने पनि एमालेले यो पटक कञ्चनपुरका सबै नगर र गाउँपालिका जित्ने दाबी गर्दै आएको छ । त्यसमध्ये पनि बेदकोट एमालेले नै जित्ने निश्चित भएको स्थानीयहरुले समेत दाबी गरेका छन् । युवा संघ नेपालका सचिव एवं राष्ट्रिय स्तरमा समेत निकै चर्चा कमाएका व्यक्ति अशोक चन्द अहिले त्यही नगरपालिकाको मेयर उम्मेदवार बनेसँगै अझ बढी चर्चा भएको छ ।

त्यति मात्र होइन सो नगरपालिकामा चन्दको उम्मेदवारीसँगै एमालेका शीर्ष नेताहरुको समेत प्रत्यक्ष ध्यान त्यहाँ पुगेको छ । एक पछि अर्को गर्दै शीर्ष नेताहरु त्यहा पुग्न थालेपछि अन्य राजनीतिक दलका मतदाता समेत चन्दको केन्द्रसम्म नै पहुँच भएको भन्दै विकासका लागि उनी बाहेका अन्य नेता नभएको भनी उनैलाई मतदान गर्ने मनस्थितिमा पुगेका छन् । उनको उम्मेदवारी दर्ताका दिन एमाले उपाध्यक्ष भीम रावल बेदकोट पुगेका थिए । त्यति मात्र होइन त्यतिबेला युवा संघ नेपालका अधयक्ष राजीव पहारी पनि चन्द्र उम्मेदवार बनेको बेदकोट पुगेका थिए । त्यसपछि पनि एमालेका शीर्ष नेताहरु बेदकोट जाने क्रम रोकिएको छैन ।

आज मात्रै पनि एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बेदकोटको चुनावी सभामा सहभागी भए । उनीसँगै युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत पनि बेदकोट पुगेका थिए । उनीहरु दुबैले बेदकोट नगरपालिकाको विकासका लागि ढुक्क भएर चन्दलाई मतदान गर्न मतदातासँग आग्रह गरे ।

नेपालले मञ्चबाटै लामो समय युवा संघमा बसेर काम गरेका चन्द वौद्धिक र विकासको योजना भएका नेता भनी प्रशंसा गरे । बस्नेतले पनि युवा संघमा सँगै बसेर काम गरेको भन्दै चन्दको निकै प्रशंसा गरे ।

स्थानीय स्तरमा मात्र होइन राष्ट्रिय स्तरमा समेत चन्दले निकै लोकप्रिय र वौद्धिक व्यक्तित्वको छवी बनाएको भन्दै बेदकोटबासीले खोजे जस्तो नेता पाएको दाबी गरे ।

सोही चुनावी सभालाई सम्वोधन गर्दै नेपालले एमाले बेदकोटमा जितको नजिक पुगेको दाबी गरे । ‘राष्ट्रव्यापी रुपमै अहिले एमालेको माहोल छ,’ नेपालले भने, ‘एमालेलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन ।’ उनले सभालाई सम्वोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा वोलीको ठेगान नभएको नेता भन्दै उनकै कारण संविधान कार्यान्वयन प्रक्रिया धरापमा परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्