एकमहिने जनपरिचालन अभियानमा एक करोड जनता सहभागी गराउने वामदेवको घोषणा


माघ ४ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले नेपालमा एमाले पार्टी रहुन्जेल देशभित्रका राष्ट्रघाती शक्तिहरुलाई अघि बढ्न नदिने चेतावनी दिएका छन् । अनेरास्ववियुले सरकारी र सामुदायिक विद्यालय र विश्वविद्यालयको गुणस्तर सुधार गर्ने उदेश्यले आयोजना गरेको ‘तीन महिने सार्वजनिक शिक्षाको गुणस्तर सुधार अभियान–२०७३’ अभियानको उद्घाटन गर्दै यस्तो चेतावनी दिएका हुन् ।

‘नेपालमा एमाले रहुन्जेल राष्ट्रघाती शक्तिलाई अघि बढ्न दिने छैनौँ,’ उनले भने,  ‘विदेशी शक्तिहरुले पनि जतिसुकै प्रयत्न गरे पनि उनीहरुलाई समेत राष्ट्रियतामाथि हस्तक्षेप गर्न दिने छैनौँ ।’ उनले नेपाली जनता र राष्ट्रियताको रक्षा एमालेले मात्रै गर्न सक्ने पनि ठोकुवा गरे । ‘रगत–पसिना बगाएर भए पनि राष्ट्रियताको रक्षा एमालेले गर्छ भन्ने सन्देश दिन एमालेले अभियान सञ्चालन गरेको छ ।’

उनले एमालेले फागुन एकदेखि चैत एकसम्म एक महिने अभियान सञ्चालन गरेको भन्दै त्यो नेपालको इतिहासमै अभूतपूर्व हुने ठोकुवा पनि गरे । ‘हामीले यो अघियानमा ५० लाख जनता परिचालन गर्ने भनेका छौँ,’ उनले भने, ‘तर, मेरो अनुमानमा यो अभियानमा एक करोड जनता सहभागी हुनेछन् ।’ उनले त्यो अभियानले नेपालमा संकट ल्याउनेहरुलाई एमालेले परास्त गरेर छाड्नेछ भन्ने सन्देश दिने दावी गरे ।

उनले कार्यक्रममा सरकारले जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारी र आवासको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । ‘त्यो भयो भने मात्र हामी समाजवादमा पुग्यौँ भन्ने ठाने हुन्छ,’ उनले भने ।  कार्यक्रममा अनेरास्ववियु अध्यक्ष नविना लामालगायतले पनि बोलेका थिए ।ooooo

प्रतिक्रिया दिनुहोस्