एकीकृत पार्टीमा ओली र प्रचण्ड को ठूलो नेता ?


काठमाडौं । एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भए पनि पहिलो नम्बरको वरियता परिवर्तन हुनेगरी अन्तरिम विधान बनेको छ । अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष पहिलो नम्बरको नेता हुनेगरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ ।
‘एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरियता पहिलो नम्बरमा हुनेगरी विधान प्रतिवेदन बनाइएको छ’, कार्यदलका सदस्य एमाले नेता बेदुराम भुषालले भने,‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लो पटक पहिलो वरियतामा रहेको अध्यक्ष पछिल्लो पटक दोस्रो वरियताको मर्यादाक्रममा हुनेछ ।’
औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर
विधान प्रतिवेदनमा पार्टीका तर्फबाट हुने औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने स्पष्ट रुपमा उल्लेख गरिएको कार्यदलका नेताहरुको भनाई छ । यो व्यवस्थाअनुसार पार्टीले जारी गर्ने सर्कूलर, कुनै संवैधानिक निकाय वा संस्थालाई पार्टीका तर्फबाट पत्राचार गरिदाँ दुवै अध्यक्षले हस्ताक्षर गर्नेछन् ।
घोषणासभामा ओलीले अध्यक्षता गर्ने
९ वैशाखमा हुने पार्टी एकता घोषणासभा बैठकको अध्यक्षता केपी ओलीले गर्ने भएका छन् । प्रचण्डसँग भएको अनौपचारिक सम्बादमा दुई नेताबीच यस्तो समझदारी भएको बालुवाटार स्रोतले जनाएको छ ।
निर्णय पुस्तिकामा आलोपालो हस्ताक्षर
एमाले र माओवादी केन्द्रका बैठकहरुमा उपस्थितिमा सबैले तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलनअनुसार एकीकृत पार्टीमा ओली या प्रचण्ड जसले बैठकको अध्यक्षता गर्छ, निर्णयको अन्तिममा पनि उसैले हस्ताक्षर गर्नेछन् । तर, आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनाएको छ । ‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ, त्यसैले यस्ता विषय स्पष्ट हुन पनिसक्छ, दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ’, कार्यदलकै अर्का एक सदस्यले भने ।
गत २२ गते बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणासभा गर्नका लागि तयारी अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएलगत्तै २७ गते पुन संयोजन समिति बोलाइएको छ । बैठकले एकतापछि बन्ने पार्टीमा संख्याको अनुपात, चुनाव चिन्ह् र जनयुद्ध शब्द विधानमा राख्ने कि नराख्ने विषय टुंगो लगाइने नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्