एक महिना भित्र राष्ट्रिय सहमतिको सरकारः प्रचण्ड


असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले निर्वाचन गराउने दाबी गरिरहेका बेला सत्ता साझेदार दल नकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने सहमति बिना चुनाव सम्भव नहुने दाबी गरेका छन् ।

उनले शनिवार विराटनगर पुगेर चुनाव अपरिहार्य भएपनि त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको भनाई सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेसप्रति लक्षित गर्दै माओवादी केन्द्रकोे समेत सहमतिमा चुनावी कार्ययोजना ल्याएको भन्दै ०७५ सालसम्म यहि सरकार रहने दाबी गरेका थिए । यता प्रचण्डले भने सवै पक्षलाई साथमा लिएर गएमा चुनाव सम्भव हुने प्रचण्डले दाबी गरेपछि प्रधानमन्त्रीको भविष्यवाणीमा आशंका उत्पन्न भएको छ ।

यद्यपि प्रचण्डले सरकारले चुनाव गराउने बारेमा ल्याएको कार्ययोजना भने सकारात्मक भएको दाबी गरे । प्रचण्डले एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना रहेको पनि दाबी गरे । मोरङको विराटचोकमा शनिवार हुने प्रदेश नम्बर १ को अगुवा कार्यकर्ता भेलाका लागि अध्यक्ष प्रचण्डसहित नेताहरु मोरङ पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्