एक वर्षमा कर्मचारीको विदेश भ्रमणमा २४ करोड खर्च


काठमाडौ, ४ असोज । गत आर्थिक वर्षमा कर्मचारीकोे विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड खर्च भएको छ । ४ हजार ८ सय ४६ कर्मचारीकोविदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २ सय २२ रुपैयाँ खर्च भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम खर्च भएको प्रतिवेदन तयार पारेको छ । कार्यदलले आर्थिक वर्ष ०७४र७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो । २४ मन्त्रालयसहित विभाग, आयोगहरूसहित ४९ वटा सरकारी निकायअन्तर्गतका कर्मचारीको विदेश भ्रमणमा ठूलो बजेट खर्च भएको हो ।

प्रतिवेदनमा निकालिएको खर्च रकममा सम्बन्धित मुलुक, आयोजक र गैरसरकारी संस्थाले व्यहोरेको खर्च विवरण समेटिएको छैन । त्यसैले कर्मचारीको विदेश भ्रमणमा कुल खर्च अझै धेरै भएको छ ।

आर्थिक वर्षको अन्त्यतिर सरकारी कोषको रकम सक्नका लागि विनाउद्देश्य अनुपात्दक भ्रमणसमेत हुने गरेको भन्दै आलोचना बढेपछि १७ साउनमा प्रधानमन्त्री कार्यालयले अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलमा प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेश घिमिरेसहित तीनजना सदस्य छन् । कार्यादेशअनुसार कार्यदलले मुख्यसचिव लोकदर्शन रेग्मीलाई औपचारिक प्रतिवेदन भने बुझाइसकेको छैन । तर, संयोजक घिमिरेले यसबारे कुनै औपचारिक प्रतिक्रिया नदिए पनि कार्यदलकै अर्का एक सदस्यले अन्तिम तयारी भइरहेकाले केही दिनभित्रै प्रतिवेदन बुझाइने जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले सरकारी खर्चमा मितव्ययिता अपनाउने भन्दै अनावश्यक विदेश भ्रमण खर्च रोक्न निर्देशन दिएपछि प्रधानमन्त्री कार्यालयले अध्ययनका लागि कार्यदल बनाएको थियो । त्यसअघि सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी र व्यवस्थित बनाउने उद्देश्यले १३ वैशाखमा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ जारी गरिएको थियो । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस्