एनआरएनए दुई वर्षे कार्यकाल यथावत


काठमाडौं, २७ असोज । गैरआवासीय नेपाली संघ(एनआरएनए) पदाधिकारीहरुको कार्यकाल यथावत रहने भएको छ ।

कार्यकाल तीन वर्षे बनाउन तयारी गरिए पनि सहभागीहरुले दुई कार्यकाल नै उचित रहेको सुझाव दिएपछि दुई वर्षे कार्यकाल यथावत रहने भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को शुक्रबार काठमाडौंमा सम्पन्न विधानसभामा प्रस्तावित विधानलाई हालकै संरचनामा थप व्यवस्थित बनाउँदै लैजाने सहमति बनेको छ ।

विधान समितिका संयोजक डा. हेमराज शर्मा र सहसंयोजक भवानी प्रसाद ओलीले प्रस्तुत गरेको विधानमाथि सात समूहमा विभाजन गरेर छलफल भएको थियो । बिशेषगरी उपाध्यक्ष, डेलिगेट्स छनोट, कर्मचारी नियुक्ति र कारबाहीलगायतका थुप्रै संसोधनसहित सुझाव संकलन गरिएको एनआरएनएका महासविच डा बद्री केसीले जानकारी दिएका छन् ।

त्यसैगरी भिजन २०२० एण्ड बियोण्डअनुरुप नै संरचना हुने र सोअनुसार युवा तथा दोश्रो पुस्ताका लागि थप एक उपाध्यक्ष गरी ६ जना उपाध्यक्ष राख्न पनि सहभागीले सुझाव दिएका छन् ।

विधानसभाले पास गरेको निर्णय सुझावका लागिमात्र पेश गर्न सकिने र विधान परिवर्तन गर्न विशेष साधारणसभा नै गर्नुपर्ने भएकाले विधानबाट विधानसभाको प्रावधान हटाइने भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षको पद हटाउने, उपाध्यक्षको योग्यता नतोकिकनै विजेता मध्येकालाई आइसीसीले नै क्षेत्र विभाजन गर्ने, २ वर्षे कार्यकाललाई नै कायम राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्