एनआरएनको अध्यक्षमा घले र भट्टले गरे उम्मेदवारी घोषणा


२७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलनबाट संघको नेतृत्व लिन दुई जना मैदानमा उत्रिएसँगै रौनक सुरु भएको छ । सम्मेलन शनिबारदेखि सुरु हुँदैछ ।

संघको अध्यक्ष पदका लागि संघका वर्तमान उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी अध्यक्ष पदको घोषणा गरेकी हुन् । गुरुङ वर्तमान अध्यक्ष शेष घलेकी पत्नी हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने पवित्र उद्देश्यका साथ सुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने बताएकी थिइन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी भवन भट्टले पनि बिहीबार नै उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि आफू योग्य रहेको दाबी गर्दै भट्टले एनआरएनको उपाध्यक्षको जिम्मेवारीमा रही आफूले सम्पूर्ण गैरआवासीय नेपालीको समस्या, पीर, मर्का बुझेको बताए ।

भट्टले आवासीय र गैरआवासीय नेपालीबीच सहकार्यका लागि समन्वयको वातावरण तयार गरी एनआरएनको ‘भिजन २०२०’ तथा सामूहिक लगानीका परियोजना कार्यान्वयनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालमा पूर्वाधार विकास तथा निर्माणमा लगानी बढाउने र रोजगारीको अवसर वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यासी भट्टले भने, ‘आफ्नो जितको पहिलो आधार नै सम्पूर्ण एनआरएनका साथीहरु हुन्, म त लगभग साझा उम्मेदवारका रुपमा उभिएको छु ।’

प्रतिक्रिया दिनुहोस्