एमालेका शीर्ष नेताहरु तराई झरे, मधेसविरोधी भएको भ्रम चिरेर फर्किने उद्घोष


१८ कात्तिक । नेकपा (एमाले)का शीर्षसहित एक दर्जन बढी युवा नेता तराई झरेका छन् । नेकपा (एमाले)को तराई जागर अभियान लिएर एमाले नेताहरु तराई झरेको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । तराईवासीहरुको महान पर्व छठको अवसर पारेर तराई झरेका एमाले नेताहरुले बिहीबार जनकपुरमा आयोजित चियापान कार्यक्रममा भव्य सहभागिता जनाए ।

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं पूर्व पार्टी अध्यक्ष झलनाथ खनाल, एमाले महासचिव ईश्वर पोख्रेल, उप–महासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट,सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, नेताहरु रविन्द्र अधिकारी, गणेश पहाडीलगायतका दर्जानौँ नेतासहितको सहभागितामा प्रदेश नम्बर दुईका नेताहरुको पनि त्यहाँ सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेताहरु नेपाल, खनाल र महासचिव पोख्रेलले मधेसमा एमाले कमजोर भएको हल्ला फैलाएर भ्रम सिर्जना गरेको दाबी गरेका दिए । उनीहरुले एमाले मधेसमा कमजोर नभएको भन्दै मधेसका पक्षमा भएको र मधेसको औधोगिक विकास र सामाजिक विभेद अन्त्य गर्न एमाले लागेको दाबी गरेका थिए । एमालेका विरुद्धमा जति लागे पनि आगामी निर्वाचनमा एमाले बहुमतसहित पहिलो पार्टी हुने दाबी सबै नेताले गरेका थिए ।

कार्यक्रममा नेपालले मैथिली भोजपुरी र नेपाली तीन भाषामा सम्बोधन गरेका थिए भने महासचिव पोख्रेलले मैथिली र नेपालीमा सम्बोधन गरेका थिए । खनालले नेपालमा सम्बोधन गरेका थिए । साँस्कृतिक कार्यक्रमहरु पनि मैथिली, नेपाली र भोजपुरीमा भएका थिए । सचिव भट्टराईले नेकपा एमालेको  चार महिने अभियान तराईबाट सुरुवात भएको बताए । ‘एमाले अब जनताकाबीचमा गैसक्यो,’ भट्टराईले भने, ‘एमाले आगामी निर्वाचनमा बहुमतसहित पहिलो पार्टी बन्ने गरी अभियान लिएर जनताकाबीचमा गएको छ, पूरा गरेर फर्किन्छ ।’

प्रतिक्रिया दिनुहोस्