एमालेका १२ विभागमा सचिव, भौतिक पूर्वाधारमा गौतम


८ असार । हालै नेकपा (एमाले) का विभागहरुमा सदस्य मनोनयन भएसँगै सचिव छानेर काम अघि बढाएका छन् । यसक्रममा बुधबार भौतिक पूर्वाधार विभागको सचिवमा अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य एवं महेन्द्ररत्न क्याम्पस ताहाचलका पूर्वस्ववियु सभापति मोहन गौतमले जिम्मा पाएका छन् ।

पोलिट्ब्युरो सदस्य डा। विजय पौडेल प्रमुख रहेको त्यस विभागमा सचिवको जिम्मेवारी प्राप्त गरेपछि गौतमले भौतिक पूर्वाधार तथा यातायातका क्षेत्रमा आफ्नो योग्यता क्षमताले भ्याएसम्म काम गर्ने बताए । गौतमले अनेरास्ववियुमा जिल्ला कमिटी अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी निर्वाह गरेका थिए । ०६३ सालमा अनेरास्ववियुबाट बाहिरिए उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका स्वकीय सचिव छन् ।

यससँगै अहिलेसम्म एमालेका १२ वटा विभागले पूर्णता पाएका छन् । पोलिट्ब्युरो सदस्य तुलबहादुर गुरुङ प्रमुख रहेको राष्ट्रिय हित तथा सुरक्षा प्रर्वद्धन विभागमा पूर्वविद्यार्थी नेता सोभियत ढकाल, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं प्रमुख रहेको सहकारी विभागमा सहकारी विज्ञ केबी उप्रेती र पोलिट्ब्युरो सदस्य कर्णबहादुर थापा प्रमुख रहेको युवा तथा खेलकुद विभागमा युवा नेता दामोदर अर्याल सचिव चयन भएका छन् ।

सुरुमा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभागमा लामो समयदेखि विभाग सदस्य रहँदै आएका यादवचन्द्र शर्मा सचिव छानिएका थिए ।

त्यसैगरी, स्थायी समिति सदस्य मुकुन्द न्यौपाने प्रमुख रहेको उद्योग तथा बाणिज्य विभागमा यातासम्बद्ध श्रीचन्द्र शर्मा, केन्द्रीय सदस्य ठाकुर गैरे प्रमुख रहेको कृषि तथा सहकारी विभागमा पूर्वविद्यार्थी नेता लक्ष्मण लम्साल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे प्रमुख रहेको अर्थ तथा योजना विभागमा अर्थविद् डा। गोविन्दबहादुर थापा र पोलिट्ब्युरो सदस्य परशुमेघी गुरुङ प्रमुख रहेको संघीय मामिला विभागमा शिव गुरुङ सचिव चयन भइसकेका छन् । बाँकी विभागमा पनि सचिव छान्ने गरी बैठकहरु आयोजना गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्