एमालेको अभियान हेर्न बिर्तामोड आएका वृद्धवृद्धाहरु भन्छन्– ‘एमालेमै रहेर मर्न चाहन्छु’


२२ फागुन । नेकपा (एमाले) ले शनिबारदेखि सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा केही यस्ता महत्वपूर्ण दृश्यहरु देखिए, जसबाट एमाले वृद्धवृद्धालाई सम्मान गर्ने पार्टी हो भन्ने कुरालाई थप प्रमाणित भएको छ । एमालेले अभियानका क्रममा शनिबार झापाको बिर्तामोडमा गरेको कार्यक्रममा करिब तीन दर्जन वृद्धवृद्धालाई सम्मान गर्यो ।

७० कटेका वृद्धवृद्धालाई गरेको उक्त सम्मान कार्यक्रममा सहभागी वृद्धवृद्धाहरु यति धेरै खुसी देखिएका थिए, उनीहरुमा खुसीको कुनै सीमा नै थिएन । त्यसरी सम्मानित भएका केही वृद्धवृद्धाले त त्यही मञ्चमा प्रमुख अतिथिका रुपमा उपस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतालाई कुनै समय लामो समयसम्म आश्रय दिएको समेत दाबी गरे । आफूले आश्रय दिएका नेता नै देशको प्रधानमन्त्री बन्दा आफूलाई आफ्नै छोरो प्रधानमन्त्री भएझैं लागेको भन्दै केहीले खुसी पनि व्यक्त गरे ।

‘मैले ४० वर्ष अघिदेखि एमालेलाई भोट हाल्दै आएकी छु,’ भद्रपुरबाट आएकी ९१ वर्षिया हरिमाया कुँवरले भनिन्, ‘कुनै समय हाम्रै घरमा लामो समय आश्रय लिएको व्यक्ति प्रधानमन्त्री हुँदा कसलाई खुसी लाग्दैन र ?’

निकै कम कान सुन्ने कुँवरले मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्ध भत्ता दिन थालेको स्मरणसमेत गरिन्, ‘मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेलादेखि वृद्धभत्ता दिन सुरु भएको हो,’ निकै उत्साहित हुँदै उनले भनिन्, ‘अहिले मासिक २ हजार भत्ता बनाउने पार्टी पनि एमाले नै हो । वृद्धवृद्धाको यसरी सम्मान गर्ने पार्टी छाडेर यो बुढेसकालमा मैले कतै पनि जाने कल्पना गरेकी छैन ।’

उनले केपी ओली र मनमोहन अधिकारीलाई भगवानको संज्ञा समेत दिइन् । कँुवर मात्र होइन, सम्मानित हुनका लागि सुरुङ्गादेखि बिर्तामोड आइपुगेका शरणबहादुर कटुवालले पनि वृद्धवृद्धाको सम्मान गर्ने पार्टी एमाले बाहेक कुनै नभएको दाबी गरे । ‘०१५ सालमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो,’ उनले भने, ‘त्यतिबेला खोइ के गर्यो ? उही पोलिस लाउने मात्र काम गर्यो ।’

उनले ०५१ सालमा पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार बनेको स्मरण गर्दै भने– ‘मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । उहाँले त्यसैबेलादेखि वृद्धभत्ताको व्यवस्था गर्नुभयो ।’ उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको इन्द्रलोकमा बास होस् भनि प्रार्थना गर्ने गरेको पनि खुलासा गरे । ‘उहाँको सधैँ भलो होस्,’ उनले भने, ‘उहाँको इन्द्रलोकमा बास होस् भनी मैले दिनहुँ प्राथना गर्ने गरेको छु ।’ उनले आफू मर्दा पनि एमालेकै सदस्य भएर मर्ने बताए ।

कुँवर र कटुवाल मात्र होइन, ७५ वर्षिय अम्वरबहादुर अधिकारीको भनाइ पनि उस्तै छ । उनले पनि एमालेले मात्र देशको विकास गर्न सक्ने भन्दै एमालेको खुलेर प्रशंसा गरे । ‘एमाले वृद्धवृद्धाको पार्टी हो,’ कुमरखोटदेखि आएका अधिकारीले भने, ‘जातीय र धार्मिक आधारमा सीमांकन गर्ने हो भने देश विखण्डनमा जान्छ । एमालेले यसमा ख्याल गरोस् ।’

गरामुनीकी ७२ वर्षिया भद्रमाया सिवाकोटीले शनिबार करिब ४० वर्ष काम गरेको पार्टी कांग्रेस परित्याग गरी एमाले प्रवेश गरिन् । उनले पनि एमाले बाहेक अरु पार्टीले वृद्धवृद्धाको सम्मान गर्न नसक्ने दाबी गरिन् । ‘जसले हामीलाई सम्मान गर्छ, त्यही पार्टीमा बस्ने हो,’ उनले भनिन्, ‘४० वर्ष कांग्रेस पार्टीको सदस्य भएर बसेँ । कहिल्यै त्यो पार्टीले सम्झना गरेन् । अब एमाले प्रवेश गरेकी छु, मलाई आशा छ एमालेले सम्मान गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्