एमालेको कृषि तथा भूमिसुधार विभाग सचिवमा लम्साल


३१ जेठ । नेकपा (एमाले) का ३१ मध्ये ३० केन्द्रीय विभागहरूले सर्वसम्मत रूपमा पूर्णता पाएसँगै ती विभागमा सचिव छनोट प्रक्रिया पनि सुरु भएको छ । केही दिन अघि मात्र पार्टीले केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरेर ३० वटा विभाग गठन भएको जानकारी दिएको थियो । पोलिटब्युरो सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभागले पूर्णता पाएको छैन ।

३१ वटा विभागमध्ये दुईवटा विभागले त्यस यसअघि नै सचिव पाएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको वैदेशिक मामिला विभागले पनि केही दिन अघि मात्र सचिव पाएको थियो । त्यस विभागमा यादवचन्द्र शर्मा सचिव नियुक्त भएका थिए ।

अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागमा पहिल्यै केन्द्रीय सदस्य ईश्वरी रिजालले सचिवको जिम्मेवारी पाएका थिए भने पृथ्वीसुब्बा गुरुङ प्रमुुख रहेको संगठन विभागमा केन्द्रीय सदस्य ज्ञानबहादुुर भुजेलले सचिवको जिम्मेवारी पाएका थिए । उनीहरु दुबैलाई केन्द्रीय कमिटीले सचिव तोकिसकेको थियो ।

सोमबार ठाकुर गैरे प्रमुख रहेको कृषि तथा भूमिसुधार विभागले पनि सचिव पाएको छ । गैरेको विभागले सचिव पाएपछि पूर्णता पाएको विभागको संख्या चार पुगेको छ । गैरे प्रमुख रहेको उक्त विभागमा पूर्व विद्यार्थी नेता लक्ष्मण लम्सालले सचिवको जिम्मेवारी पाएका हुन् । सोमबार एमालेको पूर्व मुख्यालय बल्खुमा गैरेको अध्यक्षतामा बसेको बैठकले लम्साललाई सचिवको जिम्मेवारी दिएको हो । बैठकमा प्रमुख अतिथि सचिव एवं प्रचार विभाग प्रमुख योगेश भटट्राई रहेका थिए ।
लम्साल प्रभावशाली विद्यार्थी नेता हुन् । काभ्रे जिल्लाको गौरी विसौना देउपुरमा जन्मिएका लम्साल कुसल संगठकका रुपमा परिचित छन् । बानेश्वर क्याम्पसको स्ववियु सभापतिदेखि अनेरास्ववियुको बैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, सचिवालय सदस्य, संगठन विभाग प्रमुखहुँदै उनी उपाध्यक्षसम्म भएका थिए । अध्यक्षमा झिनो मतले हारेका लम्साल विगत तीन वर्षदेखि जिम्मेवारी विहीन थिए । उनले तीन वर्षपछि जिम्मेवारी पाएका हुन् । उनी संगठनमा इमानदार नेताका रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्