एमालेको प्रदेश संगठन कमिटी जम्बो बन्दै, यस्तो छ तयारी


२४ जेठ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सोमवार पनि बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा लगातार तेस्रो दिन बसेको बैठकले प्रदेश संगठन कमिटीको स्वरुपका विषयमा प्रारम्भिक गृहकार्य गरेको छ ।

सोमबारको बैठकमा छिट्टै कमिटीलाई पूर्णता दिनेगरी प्रदेश संगठन कमिटी निर्माण गर्ने तयारी भएको नेताहरुले जानकारी दिएका छन् । ‘संयोजक, सचिव र सदस्यहरुका विषयमा प्रारम्भिक गृहकार्य भएको छ,’ सचिव योगेश भट्टराईले भने, ‘आगामी १ असारमा बस्ने स्थायी समिति बैठकमा प्रदेश संगठन कमिटीमा रहने संयोजक र सदस्यहरुको नाम प्रस्तावित हुनेगरी संगठन विभागलाई गृहकार्यको जिम्मा दिइएको छ ।’

एमालेले नै दिएको जानकारी अनुसार संगठन विभागले नामावली तयार पारेपछि सचिवालय हु“दै उक्त प्रस्ताव स्थायी समितिमा प्रस्तुत हुनेछ । बैठकमा एमाले बरिष्ठ नेता माधवकुमार नेपालले सन्तुलित, गुटबन्दी र आग्रह–पूर्वाग्रहबाट मुक्त कमिटी बनाउनु पर्नेमा जोड दिएको स्रोतले बताएको छ ।

प्रारम्भिक गृहकार्य अनुसार प्रदेश कमिटीको संयोजकमा पदाधिकारी वा स्थायी समिति सदस्य रहने व्यवस्था गरिएको छ । त्यसैगरी सदस्यहरु सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, सांसद्, पूर्व जनप्रतिनिधि (जिविस सभापति, उपसभापति, नगर प्रमुख र उपप्रमुखहरु) पूर्व राष्ट्रिय परिषद् सदस्य, जनसंगठनका पदाधिकारी र पूर्व पदाधिकारीहरुसहित आवश्यक अन्य अगुवा नेताहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस्