एमालेको विदेश विभाग सचिवमा शर्मा 


२७ जेठ । नेकपा (एमाले) का ३१ मध्ये ३० केन्द्रीय विभागहरूले सर्वसम्मत रूपमा पूर्णता पाएसँगै ती विभागमा सचिव छनोट प्रक्रिया पनि सुरु भएको छ । केही दिन अघि मात्र पार्टीले केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलन गरेर ३० वटा विभाग गठन भएको जानकारी दिएको थियो । पोलिटब्युरो सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभागले पूर्णता पाएको छैन ।

३१ वटा विभागमध्ये दुईवटा विभागले भने यसअघि नै सचिव पाएका थिए । अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागमा यसअघि नै केन्द्रीय सदस्य ईश्वरी रिजालले सचिवको जिम्मेवारी पाएका थिए भने पृथ्वीसुब्बा गुरुङ प्रमुुख रहेको संगठन विभागमा केन्द्रीय सदस्य ज्ञानबहादुुर भुजेलले सचिवको जिम्मेवारी पाएका थिए । उनीहरु दुबैलाई केन्द्रीय कमिटीले सचिव तोकिसकेको थियो ।

बाँकी रहेका २९ विभाग मध्ये सबै भन्दा शक्तिशाली विभागका रुपमा हेरिएको विदेश विभागले पनि सचिव पाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको वैदेशिक मामिला विभागमा यादवचन्द्र शर्मा सचिव नियुक्त भएका छन् । ललितपुर स्थायी घर भएका सचिव शर्मा विगत २२ वर्षदेखि पार्टी केन्द्रको सचिवालयमा काम गर्दै आएका व्यक्ति हुन् । ०५१ सालमा तत्कालिन महासचिव माधवकुमार नेपाल एमालेको नौ महिने सरकारमा उप–प्रधान तथा रक्षा मन्त्री बनेपछि तत्कालिन उप–महासचिव बामदेव गौतमलाई पार्टी हेर्ने जिम्मेवारी दिइएको थियो ।

त्यसैबेला शर्माले गौतमको सचिवालय हेर्ने जिम्मेवारी पाएका थिए । नौ महिने सरकार ढलेपछि नेपाल महासचिवकै रुपमा पार्टी जिम्मेवारीमा फर्केपछि शर्माले निरन्तर उनको सचिवालयमा बसेर काम गरेका थिए । सचिवालयमा काम गरेको १० वर्षपछि अर्थात ०६० सालमा गठन भएको एमाले विदेश विभागमा सदस्यको रुपमा जिम्मेवारी पाएका शर्मा निरन्तर विदेश विभाग सदस्यकै रपमा कार्यरत थिए । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका शर्मा पार्टीमा मृदुभाषी, बैचारिक र वैदेशिक मामिलामा दक्ष मानिन्छन् ।

उनले वैदेशिक मामिला विभाग सचिव जस्तो जिम्मेवार पद प्राप्त गर्दा त्यसलाई पार्टी जिम्मेवारीको सामान्य प्रक्रियाका रुपमा लिएका छन् । ‘सविच पद सबै कुरा होइन,’ उनले भने, ‘पार्टी विधानको धारा ५९ (१) बमोजिम निर्मित नियमावलीले निर्दिष्ट गरेको कामलाई सम्पन्न गर्ने गरी लाग्ने छु ।’

उनले वैदेशिक मामिला विभागको काम नेपालस्थित कुटनीतिक नियोग तथा संस्थाहरुमा पार्टीको सम्बन्ध र सम्पर्क स्थापित गर्ने, अंग्रेजी विषयमा आवश्यक पर्ने दस्तावेज तयार गर्ने र आश्यकता अनुसार संप्रेशष गर्ने, अन्तराष्ट्रिय घटनाको बारे पार्टी केन्द्रलाई जानकारी सूसुचित गराउने रहेको भन्दै त्यसमा आफ्नो बल–बुताले भ्याएसम्म काम गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

एमालेको विदेश विभाग सचिवमा शर्मा


प्रतिक्रिया दिनुहोस्