एमालेद्वारा संसदीय समूह निर्माण, क–कसले पाए जिम्मेवारी ?


१३ भदौ । सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षमा पुगेको नेकपा (एमाले) आफ्नो भूमिका सशक्त बनाउनमा जुटेको छ । लोकतन्त्रमा बलियो प्रतिपक्ष चाहिन्छ भन्दै ठूला दल मिलेर संविधान कार्यान्वयनका लागि सरकार बनाउनुहुन्न भन्ने ‘सिद्धान्त’ प्रतिपादन गरेको कांग्रेसको बाहुल्य रहेको सकारलाई आच्छु–आच्छु पार्ने गरी एमालेले योजना बनाएको छ ।

यसका लागि गत बुधबार एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको उपस्थितिमा संसदीय दलमा बसेको बैठकले सशक्त भूमिका निर्वाह गर्ने निष्कर्षसहित योजना बनाएको प्रमुख सचेतक भानुभक्त ढकालले बताए । उनले भने, ‘हामी जिम्मेवार र सशक्त रुपमा प्रस्तुत हुन्छौँ, त्यसका लागि आवश्यक तयारी र योजना बनाउँछौँ ।’

अहिले संसद् चलेको हरेक दिन जसो एमालेका नेताहरुले सरकारको ध्यानाकर्षण गराउने गरी तयारीका साथ गम्भीर विषय उठाइरहेका छन् । जस्तो– आइतबार संसद्मा बोल्दै सांसद भीमबहादुर रावलले भारतीय प्रधानमन्त्रीलाई नेपालका प्रधानमन्त्रीले लेखेको पत्रका बारेमा यति गम्भीरताका साथ कुरा उठाए, त्यसको जवाफ नदिई सरकारलाई सुखै भएन । सोमबार सांसद अग्निप्रसाद खरेलले पनि त्यसैगरी तयारीका साथ बोलेका थिए ।

संसदीय समूह निर्माण

एमालेको विधानले संसद्मा कामलाई प्रभावकारी बनाउनका लागि संसदीय बोर्ड गठनको व्यवस्था गरेको छ । अब छिट्टै बोर्डले पूर्णता पाउने जानकारी दिँदै प्रमुख सचेतक ढकालले त्यसका कारण काम चाहिँ नरोकिएको बताए ।

एमालेको संसदीय दलको विधानमा सबै संसदीय समितिभित्रका कामलाई प्रभावकारी बनाउनका लागि त्यहाँभित्र संसदीय समूह बनाउने व्यवस्था छ । समितिका रहेका ३ देखि ५ जना सांसदहरु राखेर बनाइने उक्त समूहले सम्बन्धित समितिभित्रका कामहरुका बारेमा छलफल गर्ने, त्यहाँ प्रस्तुत भएका विधेयकहरुमाथि छलफल गर्ने, कुनै सदस्यले संशोधन दर्ता गर्न चाहेमा त्यसका लागि छलफल गर्ने जस्ता काम गर्नेछ ।

क–कसले पाए जिम्मेवारी ?

संसदीय दलबाट बरिष्ठ नेताहरुसँगको परामर्शमा संसदीय समूहहरु निर्माण गरिएको छ । समितिमा रहेका नेताहरुमध्ये प्रत्येक समितिमा एकजना संयोजक तोकिएको छ । प्रमुख सचेतक ढकालका अनुसार, त्यसरी संयोजक तोकिएका नेताहरुले आ–आफ्नो समूहको बैठक बसालेर काम गर्नेछन् । त्यसरी जिम्मेवारी तोक्दा समितिमा सभापति भएकाहरुलाई त्यहीँको जिम्मा दिइएको छ ।

सार्वजनिक लेखा समिति– विष्णुप्रसाद पौडेल

अर्थ समिति– प्रकाश ज्वाला

विधायन समिति– अग्निप्रसाद खरेल

उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति– अनन्तप्रसाद पौडेल

अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति– राजन भट्टराई

सामाजिक न्याय तथा मानवअधिकार समिति– अष्टलक्ष्मी शाक्य

कृषि तथा जलस्रोत समिति– अमृतकुमार बोहरा

विकास समिति– रवीन्द्र अधिकारी

वातावरण संरक्षण समिति– पार्वत गुरुङ

सुशासन तथा अनुगमन समिति– मोहनसिंह राठौर

महिला, वालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समिति– रञ्जु ठाकुर

राज्य व्यवस्था समिति– भीमप्रसाद आचार्य

प्रतिक्रिया दिनुहोस्