एमालेमा यसरी बढ्दैछ सर्वसम्मतको लहर


२ मंसिर ।। मुलुकमा ढिलोचाँडो निर्वाचन घोषणा हुने निश्चित भएपछि नेकपा (एमाले) को नेतृत्व पंक्तिमा सहमति र बलियो एकताको वातावरण बन्दै गएको छ । गत असोज पहिलो साता सम्पन्न सातौं केन्द्रीय कमिटी बैठकले तीनै तहको आगामी निर्वाचनमा बहुमतसहितको पहिलो पार्टी बनाउने संकल्पसहित १० बुँदे प्रस्ताव पारित गरेको थियो । सो प्रस्ताव अक्षरसः कार्यान्वयन हुँदै गएपछि केन्द्रदेखि तल्लो तहसम्मको एमाले पंक्तिमा निकै उत्साह छाएको छ ।

कात्तिकबाट सुरु भएको चार महिने देशव्यापी राष्ट्रिय जागरण अभियान भव्य सफलतापूवर्क अघि बढ्नु र जिल्ला–जिल्लामा भइरहेका पार्टी अधिवेशन र जनसंगठनहरूका सम्मेलनबाट धमाधम सर्वसम्मत नेतृत्व चयन हुनुले पनि एमालेमा बलियो एकताको वातावरण बन्दै गएको पुष्टि हुँदै गएको छ । एक महिनायता सम्पन्न ६ जिल्ला अधिवेशनहरूमध्ये आधामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दाङ, रूपन्देही, पाल्पा र मुस्ताङ जिल्ला अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ । ती जिल्लाहरूमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवसहित सिंगै नेतृत्व आपसी सहमतिमा सर्वसम्मत रुपले चयन भएका हुन् । चितवन र बाराको अधिवेशन चुनावी प्रतिस्पर्धाबाट चयन भए पनि ‘भर्टिकल विभाजन’ नहुनेगरी सम्पन्न भएको छ । प्यानल निषेधित तर व्यक्तिगत आधारमा सम्पन्न चुनावी प्रतिस्पर्धामा दुवै जिल्लाको नेतृत्व पंक्तिमध्ये अधिकांश वरिष्ठ नेता माधवकुमार नेपाल निकटहरू निर्वाचित भएका थिए ।

त्यसो त, पछिल्ला दिनमा सहमति र एकताको वातावरण बन्दै जानुमा धेरै कारणहरूलाई आधार मानिएको छ । नवौं महाधिवेशनयता सम्पन्न दुई दर्जन बढी जिल्ला अधिवेशनबाट छानिएको नेतृत्वमध्ये डेढ दर्जन नेपाल निकट नेताहरू निर्वाचित भएका थिए । त्यतिमात्रै होइन, पछिल्लो चुनावी प्रतिस्पर्धामा पनि नेपाल निकट नेताहरू नै निर्वाचित हुँदै जान थालेपछि संस्थापन पक्ष सहमतिका लागि केही लचिलो भएको छ । अहिलेसम्मको जिल्ला अधिवेशनको परिणामले के देखाएको छ भने जहाँ संस्थापन पक्ष कमजोर छ, त्यहाँ निर्वाचन भएको छ भने जहाँ संस्थापन पक्ष बलियो छ त्यहाँ सहमति बनेको छ ।

उदाहरणका लागि पछिल्लो पटक अधिवेशन भएको चितवनलाई हेर्दा पनि हुन्छ । यहाँ पनि संस्थापनले चाहेको भए सहमति हुन्थ्यो । तर, संस्थापनकै हठका कारण भएको निर्वाचनको परिणाम ८२ सदस्यीय जिल्ला कमिटीमा ८० जना नेपाल पक्षकै निर्वाचित भए । पार्टीभित्र नेपालको वर्चश्व स्थापित हुँदै जानु एउटा पक्ष हो, तर चुनावी प्रतिस्पर्धाले अन्ततः पार्टीलाई कमजोर बनाउने र त्यसको असर आगामी निर्वाचनमा पर्ने सम्भावना देखिएपछि अध्यक्ष ओली र नेपाल दुवै पार्टीलाई बलियो एकताका साथ अघि बढाउन एकजुट भएका छन् । दुवै नेता मात्रै होइन, वरिष्ठ नेता झलनाथ खनाललगायतका सबै पदाधिकारीहरू राष्ट्रिय जागरण अभियानमा सँगसँगै सहभागी भइरहेका छन् । नेताहरूको सक्रियता र एकताबाट एमालेपंक्तिमा धेरै उत्साहको सन्देश प्रवाह हुँदै गएको छ ।

त्यसो त, सोमबार काठमाडौंमा सम्पन्न नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशन पनि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवसहित १८ सदस्यीय पदाधिकारी र १ सय ५ सदस्यीय सिंगै केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ । महासंघमा पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष ओली र नेता नेपाललाई समर्थन गर्नेमध्ये बराबरी नेता–कार्यकर्ता अटाएका छन् । अध्यक्ष ओली, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, महासचिव ईश्वर पोखरेलसहितका शीर्ष नेताहरूको सिंगै पंक्तिले महाधिवेशनलाई सम्बोधन गर्दै सर्वसम्मत नेतृत्व चयनका लागि उत्प्रेरित गरेका थिए ।

महासंघको महाधिवेशनमा नेता–कार्यकर्तालाई विभाजित हुन नदिने उद्देश्यले चुनावी प्रतिस्पर्धा भइहालेमा कम्तीमा पदाधिकारी अप्रत्यक्ष निर्वाचन प्रक्रियाबाट चुनिनेगरी विधान प्रस्तुत भएको थियो । सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने कथंकदाचित चुनाव गर्नैपर्ने बाध्यता देखिए पहिले प्रतिनिधिबाट केन्द्रीय कमिटी सदस्य चुन्ने र उनीहरूबीचको आपसी सहमतिबाटै पदाधिकारी चुनिनेगरी विधान प्रस्तुत भए पनि अन्तत ः सर्वसम्मतिको प्रक्रियाबाटै नयाँ नेतृत्व छानिएको हो । सर्वसम्मतको प्रक्रियाबाट पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ अध्यक्ष, केन्द्रीय सदस्य शेरबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष र पोलिटब्यूरो सदस्य पर्शुमेघी गुरुङ महासचिवमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्