एमालेलाई पनि साथमै लिएर अघि बढ्न देउवालाई सुजाताको सुझाव


१७ साउन । नेपाली कांग्रेस र माओवादीबीच बहुमतीय सरकार गठनको कसरत चलिरहेका बेला कांग्रेस नेत्री सुजाता कोइरालाले भने त्यसको विरोध गरेकी छिन् ।

उनले मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको भन्दै एमालेलाई पनि साथमा लिएर अघि बढ्न नेतृत्वलाई सुझाव दिइन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र तीनवटा निर्वाचन गराउनुपरेकाले सहमतिको सरकार आवश्यक रहेको स्पष्ट पारिन् ।

नेत्री कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसद्मा दुई तिहाई चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिइन् ।

दुई दिन अघि मात्र मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा पनि कोइरालाले एमाले नेतृत्वको सरकार ढाल्नु गलत भएको टिप्पणी गरेकी थिइन् । उनले भारतको कसैको दवावमा सरकार ढाल्ने खेल भएको भन्दै भारतप्रति लक्षित गरेकी थिइन् ।

कोइरालाले विराटनगरमा समेत कुनै पनि सरकारलाई अवधिभर काम गर्न दिनुपर्ने उल्लेख गर्दै अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउने सम्भावना व्यक्त गरिन् ।

वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनीयाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिँदै उनले मुलुकको लागि के गर्दा राम्रो हुन्छ, त्यसतर्फ नयाँ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन् ।

राष्ट्रिय मुद्दालाई कार्यान्वयनका लागि नेकपा (एमाले) सँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उनले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकक गरिन् ।

प्रतिक्रिया दिनुहोस्