एमालेलाई पेलेरै जाने वर्षमानको चेतावनी– ‘मंसिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ’


४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनको औचित्य पुष्टि गर्न सरकारसँग आग्रह गरिरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुुनले संविधान संशोधन हुने जिकिर गरेका छन् । पार्टी कामको सिलसिलामा मोरङ जिल्लाको उर्लावारी पुगेको उनले यस्तो जिकिर गरेका हुन् ।

उनले आगामी मंसिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने दाबी गरे । ‘संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मंसिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ,’ उनले भने ।

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने दाबी गरे । सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै छाड्ने  दाबी गरे । सीमांकन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा प्रदेशको संख्या बढन सक्ने उनको भनाई थियो । उनले संशोधनपछि संविधानको कार्यान्वयनसंगै मुलुक निर्वाचनमा होमिने पनि दाबी गरे ।

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्