एमालेले काठमाडौँमा मेयरको उम्मेदवार आइतबार छान्ने, शाक्य र श्रेष्ठ मध्ये कसले मार्लान बाजी ?


१६ वैशाख । नेकपा (एमाले) स्थायी कमिटीको ६३ औं बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ ।

वैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा गम्भीर छलफल भएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । वैैठकले स्थानीय तहको घोषित निर्वाचनलाई अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट भएका षड्यन्त्रलाई असफल पार्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । वैठकले त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

‘वैठकले व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन बिधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त बिधेयकलाई असफल पार्ने निर्णय गरेको छ,’ वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ ।’

वैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारका बारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए । प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको सकेको छ ।

यसैगरी प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको भन्दै एमालेले आइतबारसम्ममा त्यसलाई टुंगो लगाउने पनि एमालेले जानकारी दिएको छ । काठमाडौँको मेयरको उम्मेदवारका लागि विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम प्रदेश कमिटीले स्थायी कमिटीलाई दिएको छ । निकै चर्चामा रहेका केशव स्थापित भने सूचीमा परेनन् ।

‘सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरुको टुंगो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘थोरै स्थानमा बाँकी रहेका उम्मेदवारहरुको चयन भोलिसम्ममा गरिनेछ । प्रदेश नम्बर ४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ उक्त प्रदेशका बारेमा अर्को बैठकमा छलफल गरिनेछ । चयन भएका उम्मेदवारहरुलाई पार्टीका तर्फबाट उम्मेदवारहरुको प्रमाणित पत्र पठाइसकिएको छ ।’

स्थानीय निर्वाचनको घोषणा–पत्रलाई भोली दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यलयमा सार्वजनिक गरिने एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्