एमालेले गति लियो, यस्ता बन्ने भए प्रदेश कमिटी


७ असार । नेकपा (एमाले) ले सातवटै प्रदेशमा संगठन कमिटी गठन गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिएको जानकारी अनुसार अब बन्ने प्रदेश कमिटीमा सम्बन्धित भूगोलमा कार्यक्षेत्र रहेका केन्द्रीय सदस्यहरु, जिल्ला कमिटी अध्यक्षहरु, राष्ट्रिय परिषद्का निर्वाचित निर्वाचित पूर्व सदस्यहरु र निवर्तमान अञ्चल सचिवहरु रहने छन् । त्यसैगरी प्रदेश कमिटीमा निर्वाचित महिला र दलित राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू पनि रहने छन् ।

प्रदेश कमिटी संयोजक तोक्न स्थायी कमिटीको अर्को बैठक असार ९ गते दिउँसो ३ बजे बस्ने एमालेले जानकारी दिएको छ ।

यस्तो छ प्रदेश कमिटीको क्षेत्राधिकार
१. प्रदेश सङ्गठन कमिटीको कार्यावधि प्रदेश अधिवेशन नहुञ्जेलसम्म कायम रहनेछ ।
२. प्रदेश सङ्गठन कमिटीले पार्टी विधानको धारा २१ (ख) अन्तरगत अञ्चल समन्वय कमिटीले प्रयोग गर्दै आएका अधिकार र कत्र्तव्यका अतिरिक्त केन्द्रीय कमिटीको छैटौं बैठकले तोकेका देहायबमोजिमका कामहरू गर्नेछः
सम्बन्धित प्रदेशमा पार्टी कामको नेतृत्व ।
प्रदेशमा प्रतिनिधि परिषद, सल्लाहकार परिषद र जेष्ठ कम्युनिष्ट मञ्च गठन ।
प्रदेश सङ्गठन कमिटी अन्तरगत विभागहरू गठन ।
प्रदेश तहमा पार्टीका आयोगहरू गठन ।
३. प्रदेश सङ्गठन कमिटीले १० प्रतिशतसम्म सदस्य मनोनयनका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्न सक्नेछ । त्यसरी सिफारिस गर्दा निवर्तमान र पूर्व जिल्ला पार्टी प्रमुखहरू, निवर्तमान अञ्चल समन्वय कमिटी सदस्यहरू, पार्टीमा लामो योगदान भएका तथा पार्टीसम्बद्ध जनसङ्गठनका पूर्वकेन्द्रीय पदाधिकारीहरूलाई प्राथमिकता दिनुपर्नेछ ।
४. पार्टी एकता र एकीकरण अन्तरगत पार्टीमा आवद्ध भएका व्यक्तिहरूमध्येबाट पार्टी विधान बमोजिम प्रदेश सङ्गठन कमिटीले २० प्रतिशतसम्म मनोनयनको सिफारिस गर्न सक्नेछ ।
५. प्रदेश सङ्गठन कमिटीको सदस्यका रूपमा निर्णय भएका, केन्द्रीय विभागमा मनोनयन भएका र मातहत कमिटीमा रहेकाहरूलाई दोहोरो जिम्मेवारीमा नरहने गरी एक महिनाभित्र कुनै एउटा कमिटी या विभाग चयन गर्न समय दिइनेछ ।
६. हालसम्म कायम अञ्चल समन्वय कमिटीहरू/समन्वय कमिटी अब नरहने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्