एमालेले भन्यो– ‘अहिले संविधान संशोधन गर्ने बेला होइन, कार्यान्वयनमा लागौँ’


५ मंसिर । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने अन्तिम तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने त्यसमा गम्भीर असहमति जनाएको छ । आइतबार एमाले मुख्यालय धुम्वाराहीमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ‘बैठकले संविधान संशोधन होइन, कार्यान्वयनतिर जानुपर्छ भन्ने निर्णय गरेको छ,’ एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने, ‘अहिलेको आवश्यकता संविधान संशोधन होइन कार्यान्वयन हो । त्यसैले एमाले यसैको पक्षमा छ ।’
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अंगीकृत नागरिकलाई लगाइएको बन्देज कडा बनाउनु पर्नेमा पनि जोड दिएको छ । विदेशी महिलासँग बिहे गर्ने पुरुषलाई समेत निश्चित बन्देज लगाउनुपर्ने एमालेको धारणा रहेको एमालेले जनाएको छ । सरकारले अहिलेसम्म संविधान संशोधनको लिखित प्रस्ताव नल्याएको भन्दै एमालेले संशोधनको विषयमा कुनै निर्णय गर्नु पर्ने औचित्य नठानेको पनि निष्कर्ष निकालेको छ ।

एमाले उपाध्यक्ष भीम रावलले पनि संविधान संशोधन गर्नुपर्ने कारण पुष्टि नभइकन गरिने संशोधनको विपक्षमा एमाले रहेको बताए । उनले स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको भन्दै मुख्य गरेर  सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने विषयमै छलफल भएको बताए । उनले संशोधनको चर्चा सरकारले चलाएको भन्दै औचित्यहीन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्