एमालेले भन्यो– ‘गलत प्रचार नगर्नुहोस्, एमाले कसैसँग तालमेल गर्दैन’


२२ जेठ । नेकपा (एमाले) सिद्धार्थनगर भैरहवाले स्थानीय तह चुनावको विषयलाई लिएर गलत प्रचार नगर्न आग्रह गरेको छ । सिद्धार्थनगरमा एमाले अन्य पार्टीसँग तालमेल गरेर मेयर पद छाड्न लागेको भन्ने प्रचारबाजी भएको भन्दै उसले भ्रममा नपर्न सिद्धार्थनगरवासीसँग आग्रह गरेको छ ।

एमाले सिद्धार्थनगर चुनाव परिचालन कमिटीका संयोजक जिवलाल अर्यालले विज्ञप्ती जारी गर्र्दै सो कुराको जानकारी दिएका हुन् । ‘सिद्धार्थनगरमा हाम्रो पार्टी नेकपा (एमाले) को तर्फबाट मेयरको उम्मेदवार हरिप्रसाद अधिकारी र उपमेयरको उम्मेदवार उमा काफ्ले हुनुहुन्छ’, विज्ञप्तीमा भनिएको छ ‘पार्टी र उम्मेदवारहरुलाई कमजोर गराउने गरी नियोजित रूपमा प्रचारबाजी भएको छ यसमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ ।’

एमालेले आफ्ना मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन गरी घरदैलोलगायत चुनावी अभियान चलाइरहेको बेला सामाजिक मान मर्यादाको समेत ख्याल नगरी एमालेका शुभचिन्तक, सदस्य, र कार्याकर्ताहरुप्रति गलत सन्देश दिन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

‘हाम्रो पार्टीका उम्मेदवारको विजयी सुनिश्चित गर्न हामी चुनावी अभियानमा छौं, यस्तो अवस्थामा एमालेको गलत प्रचारगरी मतदाताहरुलाई भ्रममा पार्न खोज्नु गम्भीर षड्यन्त्र हो’, अर्यालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सिद्धार्थनगरबासी आम मतदाता ढुक्क हुनुहोस् हामीले कोही कसैसँग तालमेल गरेका छैनौँ, आगामी निर्वाचनमा एमालेलाई मतदान गर्नुहोस् ।’ उसले आगमी दिनमा यस्ता गलत प्रचार नगर्न राजनीतिक दल, सञ्चारमाध्यम सबैलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्