एमालेले सञ्चारमन्त्रीसँग स्पष्टीकरण लिने, सल्लाहकारद्वारा राजीनामा


९ असार । सरकारले भर्खरै ल्याएको अनलाइन सञ्चारमाध्ययम सञ्चालन निर्देशिका, २०७३ को सबैतिर विरोध भएपछि एमालेले सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग स्पष्टिकरण लिने भएको छ ।

‘कर्मचारीतन्त्रको चाहनामा आएको त्यो निर्देशिका मान्न जरुरी छैन,’ एमाले प्रचार विभाग उप–प्रमुख सूर्य थापाले भने, ‘सञ्चार क्षेत्रका व्यक्तिहरुको सहभागिता विनै ल्याएको निर्देशिकाको कुनै औचित्य छैन ।’

थापाले निर्देशिकामा थुप्रै कमीजोरी रहेको भन्दै मन्त्री राईलाई पार्टी कार्यालयमै बोलाएर त्यसबारे जवाफ माग्ने बताए । ‘उहाँले सञ्चारमन्त्री बनेपछि पार्टीको प्रचार विभाग र चोतारीसँग सल्लाह गरेर मात्र अघि बढ्ने भन्नुभएको थियो,’ थापाले भने, ‘तर काममा त्यो देखिएन ।’

पार्टीका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले पनि निर्देशिकाको विषयवस्तु र प्रक्रिया दुबै गलत भएको भन्दै सञ्चार क्षेत्रका सरोकारवालाको सहभागिता विना निर्देशिका ल्याएकाले समस्या भएको बताए ।

आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको र सञ्चारमन्त्री पनि आफ्नै भएको बेला आएको निर्देशिकाको सबैतिर विरोध हुनु राम्रो नभएको भन्दै सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्देशिकाका बारेमा स्थायी कमिटी बैठकमा छलफल हुन सक्ने बताए ।

निर्देशिकाबारे स्थायी कमिटीमा छलफल हुने

जारी निर्देशिकामा कमीकमजोरी रहेको भन्दै सचिव भट्टराईले मन्त्रीले सल्लाह गरेर ल्याएको भए राम्रो हुने बताए । आफ्नै पार्टीको नेतृत्वमा सरकार रहेको र सञ्चारमन्त्री पनि आफ्नै भएको बेला आएको निर्देशिकाको सबैतिर विरोध हुनु राम्रो नभएको भन्दै भट्टराईले निर्देशिकाका बारेमा स्थायी कमिटी बैठकमा छलफल हुन सक्ने बताए ।

चौतारीले ज्ञापनपत्र बुझायो

प्रेस चौतारी नेपालले पनि निर्देशिका गलत नियतले आएको भन्दै मन्त्री राईलाई फिर्ता गराउन दबाव दिने उदेश्यले ज्ञापनपत्र बुझाएको छ । चौतारीले मन्त्री राईलाई उनकै कार्यकक्ष सिंहदरवारमा भेट गरी ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा अनलाइन सञ्चारमाध्ययम सञ्चालन निर्देशिका, २०७३ स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता विपरित भएको उल्लेख गरिएको छ । चौतारीले ज्ञापनपत्रमा जारी निर्देशिका फिर्ता लिन सञ्चारमन्त्रीसँग माग गरेको छ ।

सल्लाहकारद्वारा राजीनामा

अनलाइन सञ्चारमाध्ययम सञ्चालन निर्देशिका, २०७३ प्रति गम्भीर असहमति जनाउँदै सञ्चारमन्त्रीका प्रेस सल्लाहकार मात्रिका पौडेलले राजीनामा दिएका छन् । उनले निर्देशिकाका बारेमा प्रेस सल्लाहकारसँग समेत सल्लाह नगरी ल्याएको भन्दै त्यस पदमा बसिरहनु औचित्य नभएको भन्दै राजीनामा राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्