एमालेसँग दूरी बढाउने रणनीतिमा सरकार, राजनीतिक पृष्ठभूमिका राजदूतको सिफारिस फिर्ता


२१ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफारिसलाई प्रचण्ड नेतृत्वको सरकारले फिर्ता लिने निर्णय गरेर स्वार्थ राजनीतिको प्रवेश गराएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै कांग्रेस–माओवादी गठबन्धन र एमालेबीचको दूरी बढ्ने निश्चित भएको छ ।

ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि भएका राजदूतहरु सिफारिसको निर्णय फिर्ता गर्ने निर्णय गरेको हो ।

परराष्ट्र सेवाका प्रस्तावित राजदूतहरुको भने सुनुवाइ पूरा भइसकेको छ । सरकारको यस निर्णयले परराष्ट्र मन्त्रालयका आठ जना कर्मचारीको सिफारिस सदर हुने भए पनि अन्य राजनीतिक रुपमा सिफारिस भएका १४ राजदूतको निर्णय भने फिर्ता भएको छ । सुनुवाइ हुन बाँकी प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ विशेष समितिले शुक्रबारबाटै प्रारम्भ गर्ने कार्यसूची बनाएको थियो ।

त्यो सँगै सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक हप्ताभित्र राहतस्वरुप जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै सरकारले मृतक परिवारको पहिचान तथा समन्वयका लागि सम्बन्धित राजनीतिक दलले सहयोग गर्ने र आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कष्णबहादुर महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्