एमालेसहित नौ दलको पुस २२ को यस्तो छ तयारी


१० पुस । संविधान संशोधन विरुद्ध आन्दोलनमा उत्रिरहेका नेकपा (एमाले) सहित नौ राजनीतिक दलले आगामी पुस २२ गते आयोजना गर्न लागेको बृहत जनप्रदर्शनलाई सफल बनाउन अहिलेदेखि नै तयारी थालेको छ । एमालेलगायत नौ दलले ‘पुस २२ गते १ बजे रत्नपार्क जाऔँ, संविधान कार्यान्वयनको पक्षमा राष्ट्रिय एकता प्रदर्शन गरौँ’ भन्ने नारासहित विशाल विरोध सभा गर्न लागेको हो ।

सो विशाल सभालाई सफल बनाउन एमाले ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीलाई परिचालन गर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जसमा आज पुस १० गतेदेखि १५ गतेसम्म पार्टी र जनसंगठनका जिल्ला कमिटीसम्मका बैठक तथा भेलाहरुको आयोजना गरी तयारीका कार्ययोजना निर्माण गर्ने टुंगो गरेको छ । यसैगरी, पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी र सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरुका बैठक तथा भेला गरी तयारीको काम गर्ने पनि एमालेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, पुस २१ गते मोटरसाइकल ¥याली गर्ने तयारी पनि एमालेले गरेको छ । सो दिन १० हजार मोटरसाइकल सहभागी हुने तयारी गरेको छ । यसैबीच, उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा कोण सभा गर्ने तयारी पनि एमालेले गरेको छ । यसैबीच, जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचारसभा पनि गर्ने भएको छ ।

यसैबीच, (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टीका अध्यक्षहरुको हस्ताक्षर भएको अपिल घर–घरमा पु¥याउने कार्यक्रम पनि राखिएको छ ।
२२ गतेको विशाल सभालाई सफल तुल्याउन एमालेले सामाजिक सञ्जालहरुको पनि व्यापक प्रयोग गर्ने भएको छ । जसका लागि सबैले आफ्ना फेसवुक, पेज, ट्वीटरमा छोटा भाषा र आकर्षक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसवुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने र प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने निर्णय पनि एमालेले गरेको छ । यसैगरी, पुस २० र २१ गते एसएमएस भाइरल चलाउने र प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने तयारी एमालेले गरेको छ ।

‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञा पत्रमा घर–घरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने, पुस २२ गते ३ घण्टाका लागि सबै सडकमा आउने, सिटी जुलुस, दौड जुलुस, प्रतिकात्मक प्रचार शैलीहरु अबलम्बन गर्ने, पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरुले तीनै सहरमा माइकिङ गर्ने, २२ गतेलाई केन्द्रित गरी डिजिटल पोस्टर र पोस्टकार्ड तयार गरी प्रचार–प्रसार गर्ने, पुस २० गते ३ बजे रत्नपार्क शान्तिबाटिकाबाट राष्ट्रिय झण्डासहित प्रचार जुलुश गर्ने, पुस २२ गतेका लागि जिंगल बनाउने, मुख्य नेताहरुको भिडियो सन्देश बनाई २२ गते सभामा आउन अपिल सार्वजनिक गर्ने र आन्दोलनको आवश्यकता र औचित्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई ब्रिफिङ गर्ने पनि एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।

आज बसेको बैठकमा विभागका सदस्यहरु, जनसंगठनका केन्द्रीय प्रचार विभाग प्रमुखहरु, उपत्यकाभित्रका जिल्ला कमिटीका प्रचार विभाग प्रमुखहरु, सम्पर्क समन्वय कमिटीका प्रचार विभाग प्रमुखहरु र प्रेस चौतारीका पदाधिकारी तथा उपत्यकाभित्रका केन्द्रीय सदस्यहरु सहभागी थिए ।

पुस २२ गते १ बजे रत्नपार्कबाट मूल जुलुश सुरु भई सहर परिक्रमा गरी ३ बजे भृकुटीमण्डपमा विरोध सभा हुने र सो सभालाई नौवटै पार्टीका अध्यक्षहरुले सम्बोधन गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्