एमाले उपाध्यक्ष भीम रावलको कडा जवाफ, ‘मधेसलाई एमालेले कहिल्यै बिहारसँग जोडेर हेरेको छैन’


३२ साउन । नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद् भीम रावलले तराईले एमालेले कहिल्यै पनि विहार नभनेको बताएका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने क्रममा एक जना सांसदहरुले प्रयोग गरेको शब्दप्रति आपत्ति जनाउँदै रावलले त्यसो भनेका हुन् ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरीले तराईको कुरा गर्दा विहारसँग तुलना गरेर हेर्ने एमालेले अहिले तराई–मधेसको डुबानको विषयमा सार्वजनिक महत्वको प्रस्ताव ल्याउनु कतिको ठीक होला ? भन्ने आशयले छलफलमा कुरा राखेलगत्तै सांसद तथा जरुरी सार्वजनिक महत्वका प्रस्तावक रावलले उक्त भनाइप्रति आपत्ति प्रकट गर्दै एमालेले तराईका विषयमा कहिले पनि त्यस्तो नभनेको र यस्ता किसिमको प्रचारसमेत नगर्न चेतावनी दिएका थिए।

आपत्ति जनाउने क्रममा रावलले भने, “तराई मधेसप्रति आफ्नो पार्टीले कहिल्यै बिहारसँग जोडेर हेरेको छैन । नेपालको सार्वभौम, स्वतन्त्रता र अखण्डताप्रति एमाले सदैव सचेत छ । त्यसैले अघिल्ला सांसदबाट तराई भनेको बिहार भन्ने अभिव्यक्ति एमाले भनेको भन्ने भनाइप्रति आपत्ति छ, यस्तो ‘कु’ प्रचार बन्द गरियोस् ।’

त्यसअघि एमालेका सांसद ममता गिरीले सार्वजनिक महत्वको प्रस्तावबारे बोल्दै
बाँदर प्रवृत्तिका मानिसले मात्रै यो प्रस्तावलाई अस्वीकार गर्न सक्दछन् भन्ने आशयका अभिव्यक्तिप्रति सांसद रामहरि खतिवडाले तत्कालै उठेर आपत्ति जनाएका थिए ।

खतिवडाले बाँदर भन्ने शब्द संसदीय मर्यादा विपरीत भएकाले त्यसलाई रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका थिए । त्यसको लगत्तै सभामुखको भूमिकामा रहेका नेपाली काँग्रेसका सांसद नारायणबहादुर कार्कीले उक्त शब्दलाई रेकर्डबाट हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्