एमाले केन्द्रीय कमिटी बैठकका लागि आठ कार्यसूची पारित


५ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको आजदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । बैठकका लागि विभिन्न आठ कार्यसूची समेत पारित भएको एमालेले जानकारी दिएको छ ।

अध्यक्ष ओलीले विकसित परिस्थिति र आगामी कार्ययोजनासहितको ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यसूचीमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, स्थानीय निकायको पुनःसंरचना (सङ्ख्या र सीमा), पार्टी प्रवेश गरेकाको व्यवस्थापन, प्रदेश सङ्गठन कमिटीका सम्बन्धमा, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चमा मनोनयन, केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन, स्थायी समितिका निर्णयको अनुमोदन, केन्द्रीय आयोगका प्रतिवेदन छन् । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न सात प्रदेश, केन्द्रीय विभाग र फाँट गरी केन्द्रीय कमिटी सदस्यका नौ वटा समूह बनाइएको छ । ती समूहले भोलि १ बजेसम्म छलफल गरी बैठकमा धारणा प्रस्तुत गर्नेछन् । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्